-पदम आरडी
मानवको उत्पत्ति कहाँ र कसरी भयो भन्ने ठ्याक्कै भन्न सक्ने तथ्य कहिँकतै नभएपनि विज्ञान र वैज्ञानिकहरुका सोध अनुसार यो विभिन्न जीवहरुको रूपान्तरित रुप हो भन्ने हामी दुई-चार अक्षर पढेकालाई थाहा छ र यो नै सर्वमान्य सिद्धान्त पनि हो ।
यो पृथ्वीमा उत्पत्ति भएका जीवहरुमा मानवलाई सर्वोत्कृष्ट एवं विवेकशील जीवमा राखिएको छ। हाम्रो धर्मशास्त्र बिज्ञानले पनि यस्तै ज्ञान दिन्छ । संसारको प्रगति हेर्दा पनि हो कि जस्तै लाग्छ ।
सर्वश्रेष्ठ, चेतनशिल सामाजिक प्राणी भएकोले विभिन्न सभ्यता (सिन्धुघाँटी, मोहनजोडदो लगायत)को विकास भयो। मानव र प्रकृति एक अर्काको परिपुरक भइ सभ्यता विकास भएको पाइन्छ । यहि सभ्य समाजकाे विकास गर्ने क्रममा विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । यसै क्रममा एउटा वर्ग उत्पत्ति भयो, जसले आफ्नो सीपको माध्यमबाट अहिलेको सभ्य भन्ने मानव जगतलाई माथि उठाउने काम गरे । तर मानव सर्वश्रेष्ठ, चेतनशिल र ज्ञानी हुँदाहुँदै पनि कालान्तरमा स्वार्थी भयो र आफ्नै सहोदर भाइबन्धुलाई वर्ग र उपवर्गमा विभाजन गर्न पुग्याे ।
श्रमबाट सेवा गर्ने एक तप्कालाई जातीय रुप दिन थालियो । एक्काइसाैं शदाब्दीमा आइपुग्दा पनि जातभात भन्ने शब्दले यति गहिरो जरा गाड्यो कि यसलाइ चाहेर पनि उखेँलेर फाल्न सकिएको छैन । जातको आडमा फाइदा लिनेेहरुले यसलाई भुसकाे आगाेझैं सल्काइरहेका छन। दन्किएको आगोले कुन जात धर्म भन्दैन। जसको पनि विनाश गर्न सक्छ ।
वर्ग र उपवर्ग बन्ने क्रममा एउटा वर्गको जातलाई दलित शब्दको विल्ला लगाइ दिए, जुन अहिले अपमानित अर्थमा परिणत भएको छ ।
दलित शब्दको अर्थ जे लागेतापनि समाजमा सङ्कृण सोच भएका मानिसहरुलाई यो शव्द अन्याय, अछुत, जाति विरोधीको प्रतीक बनी अरुलाई अपमान गर्न यसले उर्जाशिल बनाएको पाइन्छ । यही शब्दको आडमा उपल्लो र तल्लो जात निर्धारण गरिन्छ । यो शब्दले सडक, समाज देखि संसद सम्म, पाठ्यपुस्तक देखि मानवकाे मानसपटल सम्म ठाउँ पाएको छ ।
हाम्रा धर्मज्ञाताहरुले पनि आफ्नो स्वार्थ अनुसार नै यसकाे व्याख्या गर्दै गए। समाजमा जति घृणित कुकार्य गरे पनि तथाकथित उपल्लो जातीबाट जन्म लिएको रहेछ भने उच्चै जात रहने तर राम्रो काम गरेपनि एक तप्कालाई तल्लो जाति नै भनिने प्रचलन कालान्तर सम्म रहँदै आएकाे छ । कुनै धर्ममा पनि उचनिच लेखिएको पाइन्न। धर्मले जन्म नभइ कर्मलाई उच्च मानेको छ । धर्मले अहिंसा, सदभाव, प्रेम र एक अर्काको सम्मानलाई स्थान दिएको पाइन्छ । तर यसका व्याख्याकारहरुले तोडमोड गरी यसलाइ अव्यावहारिक बनाइदिए। अर्थात विभिन्न धर्म र जातजाति मा छुट्याए। यसको कारण बेलाबेलामा मानिस-मानिस बीच विग्रह हुन्छ । धर्म र जातको नाममा हत्या, हिंसा र बलात्कार भएको पाइन्छ । जात त महिला र पुरुष मात्र हुनुपर्ने हो। राम्रो गर्ने उच्च र नराम्रो गर्ने निच हो भन्ने सर्वमान्य सिद्धान्त हुनुपर्ने हो । तर विडम्बना समाजमा यस्तो पाइन्न । किनभने आफूलाई उच्च श्रेणीमा राख्न कतिपय पढेलेखेका भनाउँदाहरु नै खुला ठाउँमा र घरमा फरक व्यवहार देखाइ माउसुलि जस्तै रङ फेर्दछन्।
दलितलाई दलित नै भैराख्न अन्य कुरोले पनि ठाउँ दिएको पाइन्छ । जस्तै पाठ्यसामाग्रीमा दलित शब्द नै पढाइन्छ। पानी करुवाको धारोबाट नछोइने गरि खान दिएको देखाइन्छ। दलित भनेका अछुत भनी पढाइन्छ। अबोध बालबालिकाले यसैलाई अंगिकार गर्छन् । पढाउने पनि प्रायः उपल्लै जातका हुने भएकोले, यो गलत हो भन्ने आँट सम्म गर्न सक्दैनन् ।
विकासको मेरुदण्ड मानिने आर्थिक क्रियाकलापमा यस्ता दलितहरु अझै सहभागी हुन पाएका छैनन्। पानी नचल्ने जातमा भएकोले चियाको पसल, भैंसीपालन गरी दूध बेचबिखन, होटल खोली भातभान्सा जस्ता आर्थिक क्रियाकलापमा सहभागी हुन पाएका छैनन्। न त उनीहरूसँग कृषि उपजकाे लागि जमीन नै थियाे ।
एउतै सनातन धर्म मान्नेले आफैंले बनाएको मठमन्दिरमा आस्था राखी धार्मिक कार्यमा समेत उनीहरू सहभागी हुन पाएनन्।
जात र सर्वहाराको नाममा राजनीति गरि पदमा पुगेकाले यिनीहरुको विषयमा आवाज उठाउन कन्जुस्याइँ गरे। संविधानमा लेखिएको अपमानित शब्द दलित हटाउन कहिल्यै पहल भएन। न्यायमुर्तिहरु पनि उपल्लो जाति हुने भएकोले खुलेर व्याख्या गर्न सकेनन्। तथाकथित दलित सांसदहरु पनि निरीह बने।
पाठ्यपुस्तकमा पनि फलामको काम गर्ने कामी, कपडा सिलाउने दमाई र जुत्ताको काम गर्ने सार्की भनी लेखिएको पाइन्छ तर यी काम गरेर आयआर्जन गर्न सकिन्छ । सम्मानित र अत्यावश्यक काम हाे भनेर कतै लेखिएन।
तथाकथित तल्लो जातीय नारीलाई प्रेमजालमा फसाइन्छ, हमबिस्तर बनाइन्छ, तर घरमा भित्र्याउन परे अछुत बनाइन्छ । के थाहा ती अधर्मी पाखण्डिहरुलाई, कहीँकतै तिनको जन्म पनि अछुत पुरुषको विर्यबाट नै पाे भएको हो कि । किनभने मानव भ्रुण बन्न जात चाहीँदैन, मात्र महिला पुरुषको समागम भए पुग्छ ।
अहिले आरक्षणको विषयमा युवाहरूमा अन्तरविरोध देखिन्छ। यो विषयमा राम्रोसँग सम्बोधन हुनु जरुरी छ। यसको सम्बोधन बेलैमा भएन भने, युवाहरूबीच बिरोधको राप सल्कनेछ र यसले उग्ररूप पनि लिन सक्छ ।
वास्तवमा गरीब र जेहेन्दारले नै देश विकासको अवसर पाउनुपर्छ। तर युवावर्गहरुले के पनि बुझ्नुपर्छ भने सदियाैं देखि भुमीहिन, अर्थहिन, समाजबिहीन, धर्मबिहीन, अछुत भइ बाँच्नु पर्दाको पिडा। दुई छाक टार्न, नाङ्गो आङ ढाक्न अरुको अगाडी हात जोड्नुपर्दाको पिडा। पानीकाे धारामा अलग्गै बसि पानी थाप्नुपर्ने पिडा। एउटै कार्यालयमा सहकर्मी र हाकिमबाट तल्लो जात भनी हेपिएको पिडा ।
हावा, पानी, माटो र बाेटबिरुवाले विभेद नभएको प्रकृतीमा मानवले मानवलाई विभेद गर्ने कुनै हक छैन। अब दलित शब्द हटाइ सोचाइमा परिवर्तन ल्याइ, समता मुलक समाज निर्माण गर्ने जिम्मेवारी युवाहरूकाे काँधमा छ । त्याे महत्वपूर्ण जिम्मेवारी वहन गराैं ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।