दिनेश पाण्डे
नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डे द्वारा यस कृतिमा अवधूत दत्तात्रेयको वेदान्तमय वाणीलाई सबैले बुझ्ने गरी नेपाली भाषामा समछन्दमा राखिदिनुभएको छ।
हुन त आजको भोगविलासको जमानामा यस्ता पुस्तक पढ्ने रुचि कमैमा मात्रै पाइन्छ । तथापि अहङ्कारबाट ओङ्कारतर्फ तथा संसारबाट परमात्मातर्फको यात्रामा गतिशील रूपले अघि बढ्न चाहनेहरूलाई भने यो कृतिले पक्कै पनि सहयोग गर्नेछ भन्ने विश्वास हामीलाई छ।
हाम्रो एक्ट प्रो नेपाल डट कम मार्फत यस कृतिलाई प्रत्येक हप्ता शनिवार प्रकाशित गरिँदैछ।
अवधूतगीताका केही रोचक श्लोकहरू गुनगुनाउँदै जाँदा सोको नेपाली गुनगुनाहट पनि सुरु भएपछि पूरा पुस्तककै नेपाली भावानुवाद गर्ने सोच मनमा आई यौटा सिङ्गो कृति नै तयार हुन पुगेकोमा लेखक आफूले कहिल्यै नसोचेको कुरा हुन गएको बताउनुहुन्छ । अनुष्टुप्, इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक, वसन्ततिलका तथा मात्रिक शास्त्रीय समछन्दमा लेखिएको यो कृति प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।
हामीलाई विश्वास छ कि हाम्रा आध्यात्मिक तथा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ ।
लेखक परिचय
नाम- दिनेश पाण्डे
जन्म- २०३३-०१-१३
जन्मस्थान- नुवाकोट, थानसिङ्-२
हाल- काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार
कार्यस्थल- मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।
अवधूतगीता अध्याय ७
पथतिर मिल्ने थाङ्ना भिर्दै
पुण्य अपुण्य दुवै पथ चिर्दै ।
एकान्तिक मन बस्दछ नग्न
बनी निरञ्जन समरसमग्न ।।१
योग अयोग दुवै थरि बन्दै
लक्ष्य-अलक्ष्य-विवर्जित बन्दै ।
रम्दछ तत्त्व-निरञ्जनपूत
बोल्दछ फेरि कहाँ अवधूत।।२
आशापाशा-बन्धनमुक्त
शौचाचार सबैकन मुक्त ।
यस्तो सर्वविवर्जित हाला
रम्दछ शुद्ध निरञ्जनवाला ।।३
देह विदेह कहाँ छ विचार
राग विराग कहाँ छ विचार ।
निर्मल निश्चल गगनाकार
चेतनपूर्ण छ सहजाकार ।।४
के हो तत्त्व कहाँ अब भान
रूप अरूप कहाँ तब जान।
मात्र छ गगनोपम सब चाला
विषयहरूमा छैन सहारा।।५
गगनसमान निरन्तर हंस
तत्त्व विशुद्ध निरञ्जन अंश।
भेद अभेद छ द्वन्द्वविहीन
बन्धविबन्धविकारविहीन।।6
केवल तत्त्व छ समरस एक
योग वियोग कहाँ अब भेद।
यस्तो परम निरन्तर हाल
अनि उसमा के सार विसार।।७
मात्र छ एक निरञ्जन तत्त्व
गगनाकार निरन्तर शुद्ध ।
कहाँ वहाँ अब सङ्ग विसङ्ग
जहाँ छैन क्यै रङ्ग विरङ्ग।।८
छैनन् योग वियोग छ योगी
छैनन् भोग विभोग छ भोगी।
घुमफिर गर्दछ मन्द र मन्द
जब अवधूत छ सहजानन्द।।९
बोधविबोध निरन्तर युक्त
द्वैताद्वैत अझै अविमुक्त ।
सहज विरागी कसरी योगी
बस्छ निरञ्जन समरस भोगी।।१०
न यो छ खण्डित न त छ अखण्डित
सङ्ग असङ्ग दुवै छ विवर्जित ।
समरस यो जो गगनाकार
बन्दछ कसरी सार असार।।११
नित्य छ सर्व-प्रपञ्चविमुक्त
भूतपञ्च सबदेखि छ मुक्त ।
ध्यान अध्यान कहाँ सब करण
उसको के अब जीवन मरण।।१२
मृगाम्बुवत् छ यो सृष्टि विशाल इन्द्रजाल छ।
अखण्डित घनाकार सच्चिदानन्द मात्र छ।।१३
धर्मादि मोक्षपर्यन्त हामी निरीह सर्वथा।
विरागरागमुक्तात्मा कल्पना गर्नु के वृथा।।१४
जब यति जान्दछ जान्नु छ अब के
वेद तर्क सब काम छ तब के।
समरसमग्न भई रसपूत
बोल्दछ रसमय अनि अवधूत।।१५
इति दिनेशपाण्डेयकृते दत्तात्रेयावधूतगीतायां नेपालीभावानुवादे सप्तमोsध्याय:।।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।