जरिकोटको खल्तीमा
शरीरकै एक अङ्गजस्तो मोबाइल फोन
जब बज्छ टिरिङ् टिरिङ्
त्योभन्दा बढी धड्किन्छ
हृदयको रिङ्टोन
तैंले ताते गर्दै हिँडेको
घरमास्तिरको बाटो हुँदै अचेल गाडी पो कुद्छ
सोचिबस्छु,
कुनै न कुनै गाडीले त
तँलाई मसम्म ल्याइपु¥याउला नि कुनै दिन !
तेरो बालापनका छाप पुरिने गरी
असाध्यै बाक्लोसँग मौलाएको छ
गोरेटा, बारीका डिल र चिप्लेटी खेल्ने भीरमा
बनमारा
मनमा माया मौलाएभन्दा पनि बढी !
नाप्न नसकिने रहेछ मायाको रोपनी
आफ्नै आँगनबाट
तैंले गाउँ छाडेपछि
मोटरबाटो हुँदै सहर पसे मान्छेजस्तै रुख र बुटीहरु
छोरीचेलीका तेजिला स्वप्निल आँखा
विस्थापित भए गाउँका उज्याला सपना
गाउँमा आए
म्याद सकिएका ओखती, मोबाइल फोनका नौरङ्गी चटक
गाउँ पसे
भद्र भेषमा तस्कर र धर्मप्रचारकहरु, भाइरल समाचार खोज्ने पत्रकार
खै नापजाँच नहुने रहेछ आउने र जानेको
हुलाकी बतासले पनि अचेल बोक्दैन चिठी
दुधकोसीसँगै बगाउँदै बगाउँदै पठाउँछु
मनको चिठी मायाले बाँधेर
बरु, कतिञ्जेल बग्ला यो कोसी यसैगरी ?
धमनीमा रगत बगुन्जेल त बगिरहला नि !
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।