चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले १ हजार ३६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो ।
कार्यालयका प्रमुख ई. रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा १ हजार ४५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरुबाट २ करोड ८२ लाख २१ हजार ९१६ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
प्रमुख श्रेष्ठका अनुसार १ हजार ६६८ जना ग्राहकबाट ४ करोड १३ लाख ९५ हजार ५६७ रुपैयाँ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म २८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।
उनीहरुबाट १ करोड ५ लाख ४६ हजार १८८ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, ‘नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ ।’
भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् । यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।