add

मुग्लिन-पोखरा सडको २० किमी खण्डमा १० सेन्टिमिटर बाक्लो कालोपत्र सम्पन्न






ActPro Nepal

|

६ पुष, २०८१

|
659

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ ।

यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ ।

उक्त खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ ।

उनले भने, ‘यसअघि सडकको मोटाइ ६ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप ४ सेन्टिमिटरको काम भइरहेको छ ।’

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । पाण्डेले पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

पाण्डेले भने, ‘पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।’

पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ । दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३-२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ ।

यो खण्डमा १४ साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ५० प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

वि.सं. २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.