add

नारायणघाट-बुटवल सडकमा ४ वर्षपछि कालोपत्र सुरू






ActPro Nepal

|

२ चैत, २०७९

|
405

कावासोती । शिलान्यासको ४ वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ ।

नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जङ्गल क्षेत्रमा ५०० मिटर सडकमा मंगलबार कालोपत्र गरिएको हो । गत २०७५ चैत ८ गते शिलान्यास भएको पूर्वपश्चिम जोड्ने मुख्य राजमार्गको यसअघि पूर्वी खण्डको हर्कपुर र पश्चिम खण्डको भुमहीमा कालोपत्रको परीक्षण गरिएको थियो ।

कावासोतीदेखि लोकाहासम्मको ४ किलोमिटर सडक एक साताभित्र कालोपत्र गरिसक्ने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । उनका अनुसार राजमार्गको उत्तरतर्फको साढे ७ मिटर फराकिलो सडकमात्र पहिलो चरणमा कालोपत्र गरिएको हो ।

‘बुधबार गरिएको कालोपत्र छ सेन्टिमिटर बाक्लो छ, दोस्रो चरणमा चैत मसान्तभित्र त्यसमाथि थप चार सेन्टिमिटर बाक्लो कालोपत्र थपिने छ,’ झाले भने ।

कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको क्षेत्र कालोपत्र गर्न थप एक लाख घनमिटर ग्राभेल आवश्यक पर्ने भएकाले निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको जानकारी दिँदै झाले कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको सडक चैतभित्र कालोपत्र गरिने बताए ।

फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशतमात्र भएको सडकको निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ करपोरेशनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार गरिरहेको छ ।

लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साढे ३ वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.