काठमाडौं । भगवती मानव कल्याण संगठन नेपालले राष्ट्ररक्षाको कामना गर्दै २४ घण्टे अखण्ड श्री दुर्गा चालिसा पाठ सम्पन्न गरेको छ। संगठनले काठमाडौंको पुलतीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयमा आरतीसहित सो कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमको अन्त्यमा समाज कल्याणमा समर्पित ११ विशिष्ट व्यक्तित्वहरूबाट आरती गराइएको थियो । संगठनले आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय स्तरको विशाल शिविरको पूर्वतयारी स्वरुप राष्ट्ररक्षाको कामनासहित कार्यक्रमको आयोजना गरेको संगठनकी सचिव डा। मिनु सिग्देलले जानकारी दिइन् । उनका अनुसार २०८२ साल वैशाख १२ र १३ गते लाखौंको सहभागितामा काठमाडौंमा ‘राष्ट्र निर्माण, शक्ति साधना नशामुक्ति शिविर’ नाम दिइएको अन्तर्राष्ट्रिय स्तरको द्विदिवसीय शक्ति चेतना जनजागरण शिविर हुने संगठनले तयारी गरिरहेको छ।
कार्यक्रममा संगठनका केन्द्रीय महासचिव सिद्धाश्रम रत्न श्रद्धेय अजय अवस्थीले समस्त मानव जातिको मूल लक्ष्य आध्यात्मिक चेतना प्राप्त गरेको भन्दै ऋषि परम्परालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए ।
नेपालमा ठुलो युवा जमात नशामा लिप्त भएकाले नेपाललाई नशामुक्त बनाउनु आवश्यक रहेको बताए।
संगठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ अन्तर्गत योग, ध्यान, साधना एवं शक्तिचेतना जनजागरण शिविरको माध्यमबाट नेपालका पाँच हजारभन्दा अधिक व्यक्तिलाई नशामुक्त बनाइसकेको छ भने गत साउनबाट शुरु भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान ‘एक वृक्ष–राष्ट्रको नाममा’ आम जनसमुदायको सहयोगमा जारी रहेको संगठनका प्रचारमन्त्री बिपी कोइरालाले बताए। संगठनले घरदैलो अभियानअन्तर्गत विविध साधनात्मक कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ।
शुक्रबार र शनिबार भएको कार्यक्रममा संगठनले समाज कल्याणको भावले निःस्वार्थ रुपमा आयोजना हुँदै आइरहेको आरती एवम् अखण्ड चालिसा पाठ आ–आफ्नो घरमा आयोजना गर्नसमेत संगठन सबैमा आह्वान गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।