add

इतिहासमा पहिलोपटक अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुँदै






ActPro Nepal

|

६ कार्तिक, २०८१

|
287

काठमाडौं । नेपालमा पहिलोपटक अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुने भएको छ । कुल ५ दिन लामो महायज्ञको विधिवत् सुरुवात कार्तिक २१ गते देखि हुनेछ । महायज्ञ काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।  महायज्ञको मूल कार्यक्रम कार्तिक २१ देखि २५ गतेसम्म आयोजना हुनेछ । नेपाल महर्षि वैदिक फाउण्डेसनको तत्वावधानमा महायज्ञ सुरु हुन लागेको हो । 

आयोजकका अनुसार नेपालमा पहिलोपटक यति ठूलो महायज्ञ आयोजना हुन लागेको हो ।

शङ्कराचार्यद्वारा स्थापित चारपीठमध्ये ज्योतिर्मठका पीठाधीश शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीका अनन्य शिष्य महर्षि महेश योगी २०३१ सालमा नेपाल आएको पचासौं वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको यस महायज्ञ मुख्यतः विश्व कल्याण तथा नेपाल राष्ट्रको सम्बृद्धिका लागि समर्पित रहने कुरा आयोजकले बताएका छन् ।

भावातीत ध्यान र सिद्धि साधक एक हजार एक सय एघार आचार्य तथा बटुक पंडितबाट हुने यो पहिलो अतिरुद्र विश्व कल्याण महायज्ञ हुन गइरहेको आयोजकले जनाएको छ । 

प्राचीन यज्ञका विधि, निष्ठा र आस्थासँग सम्पन्न हुने अतिरुद्र महायज्ञले लोपोन्मुख यज्ञका विधि र निष्ठालाई पुनर्जागृत गराउने दावी आयोजकले गरेका छन् ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालका विभिन्न जिल्लामा रहेका गुरुकुलहरूमा त्यहाँका ब्राह्मण वटुकहरूद्वारा लामो समयदेखि नियमित रुपमा रुद्राभिषेक गराइरहेको जनाउँदै र त्यस्ता रुद्राभिषेकको जम्मा आवृत्ति संख्यामा प्रतिदिन एक महारुद्र (१२१ गुना ११ का दरले १३३१) भइरहेको छ । 

यस अतिरुद्र महायज्ञको उद्देश्यहरूमा आचारवान् समस्त सनातनीहरूले गरेका सत्कर्मद्वारा वैदिक सनातन परम्परा विरुद्धका समस्त दुष्प्रवृत्ति, दुराचार आदि दुष्कर्महरू प्रत्येक सनातनीको हृदयबाट निःसारति होउन् भन्ने पनि हो । 

त्यस्तै, सम्पूर्ण सनातनीहरूमा श्रुति, स्मृति, पुराणोक्त सदाचारको तीव्र क्रियान्वयन होस् तथा सदाचारीहरूका सत्कृत्ययुक्त उद्योग, व्यापार, व्यवसाय, पेसा, राजनीति, धर्मनीति आदिद्वारा नेपाल सम्पन्न र समृद्ध बनोस् र लोकको कल्याण होस् भन्ने पनि महायज्ञको उद्देश्य रहेको छ ।

यस महायज्ञको अर्को विशेषता के हो भने सबै भक्तजनहरू यसमा स्वयं कर्ता बनेर अनुष्ठानमा सहयोग पु¥याउन सक्छन् । महायज्ञमा कर्ता हुन विभिन्न उपाय सुझाइएको छ । कसैले एक महारुद्र बराबरको संकल्प गर्न चाहन्छ भने रु एक लाख ११ हजार १११ प्रकदान गर्नुपर्नेछ । त्यस्ता भक्तलाई नेपाल महर्षि वैदिक फाउण्डेशनले मानार्थ आजीवन सदस्यतासमेत प्रदान गर्ने व्यवस्था गरिएको छ । 

त्यस्तै, भक्तहरूले रु. ५१ हजार १११ प्रदान गरी एक लघुरुद्र बराबरको संकल्प तथा रु. पाँच हजार ५५५ दक्षिणा प्रदान गरी एक रुपक (एक आवृत्ति षडङ्रुद्री) र चण्डीपाठको कर्ता बन्नसक्ने प्रावधान छ ।

नेपालमा महर्षि महेश योगीको विशेष स्थान हुनुको मुख्य कारण उनले नेपाल विश्व कल्याणकारी कार्यमा नेतृत्व गर्न सक्षम देश हो भनेर सार्वजनिक रुपमा सदिच्छा व्यक्त गरेका कारणले हो । यो अतिरुद्र महायज्ञले पनि महर्षि महेश योगीको सदिच्छा र उद्घोषले मूर्त रुप लिन सकोस् भन्ने उद्देश्य राखेको छ ।

महर्षि महेश योगी वि.सं. २०३१ सालमा नेपालको पवित्र भूमिमा आएर हज्जारौं व्यक्तिको उपस्थितीमा “विश्वको नेतृत्वका लागि नेपाल” भन्ने कुरा उद्घोष गर्दै आफ्नो सशरीर तस्विर र हिमालयको तस्विर राखेर सो पोष्टर स्वीजरल्याण्डमा प्रकाशित गरेर विश्वभर प्रचार–प्रसार गरेका थिए । उनको भनाईको सार नेपालले वैदिक मूल्यमान्यताका आधारमा विश्वको नेतृत्व गर्न सक्छ भन्ने नै थियो । त्यस्तै विश्व शान्तिको नेतृत्व नेपालले लिनुपर्छ र सक्छ भन्ने कुरालाई योगीले विश्वभर प्रचार गरेका थिए । 

आजभन्दा ५० वर्ष अघि नेपालमा टेलिभिजन प्रवेशनै नगरेको अवस्थामा उक्त भ्रमणका क्रममा महर्षिले ५०० थान टेलिभिजन सेट ल्याएर र स्वयम्भूमा अस्थायी टावर जडान गरेर आफूले रत्नपार्कमा दिएको प्रवचनलाई राजदरबार र सिंहदरबारमा अवलोकन गर्नसक्ने अवस्था बनाएका थिए । त्यसै समयमा उनले खुलामञ्चमा २५ हजार भन्दा बढी जनमानसलाई एअरफोनद्वारा मन्त्रदान पनि दिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.