add

पौडेल-कोइराला निकटका सभापति देउवाको विरोधमा, कांग्रेस केन्द्रमा भन्दा जिल्लामा झन् भताभुङग






ActPro Nepal

|

२९ साउन, २०७७

|
874

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला निकटका जिल्ला सभापतिहरूले पार्टीका सबै तह र तप्काका व्यक्तिहरू वडा तहदेखिनै निर्वाचित भई आउनुपर्ने माग गरेका छन् ।

काठमाडौंमा बुधबार बसेको बैठकले समावेशी, समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्ने व्यक्तिले एकपटक मात्र उक्त जिम्मेवारीको अवसर पाउने व्यवस्थाको माग गरेको छ ।

आफ्नो जिल्लामा गुटका कारण अस्तव्यस्त रहेका बेला जिल्ला सभापतिहरू भने सभापति शेरबहादुर देउवालाई गाली गरेर भेला गर्ने, विज्ञप्ति जारी गर्ने जस्ता हर्कत गर्दै आएका छन् । पौडेल–कोइराला निकटका जिल्ला सभापतिहरूको जिल्लामा केन्द्रमा भन्दा झन् कांग्रेस भताभुङग छ ।

‘सदस्यता वितरण पार्टीको विधानअनुसार गरियोस् । नियमवालीमा गरिएको व्यवस्था खारेज गरियोस्’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘एक निर्वाचन क्षेत्र भएका जिल्लामा पनि महाधिवेशन प्रतिनिधिबाट नै सभापति चयन गरिने व्यवस्था गरियोस् ।’

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले पार्टीको ८औँ महासमिति बैठकमा आएका सुझावहरू अनुसार अगाडि बढ्नुपर्ने बताए ।

उनले पार्टीको नीति, विधान र परम्परा विपरित केन्द्रीय समितिलेको बहुमतद्वारा उल्टाइएको भन्दै केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णयहरू अक्षरंश पार्टीको १४औं महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निर्णय भएको बताए ।

‘नेपाली कांग्रेसको बिधान २०१७ र संशोधित बिधान २०७५ ले निर्देशित गरेअनुसार पार्टी पद्धतिअनुसार पार्टी सभापति एवम् केन्द्रीय समिति अगाडि बढ्न सकेन’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानअनुसार छ महिनाभित्र गठन हुनुपर्ने विभागहरू गठन गर्न वर्तमान केन्द्रीय समिति एवम् नेतृत्व पूर्ण रूपमा असफल रह्यो ।’

‘वर्तमान केन्द्रीय समिति लगायत सम्पूर्ण समितिहरूले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा र पार्टीको १४औं महाधिवेशन पनि घोषणा भैसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागहरू अवैधानिक एवम् स्वेच्छाचारी ढंगले विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद छ’, पौडेल–कोइराला निकटका जिल्ला सभापतिहरूले विज्ञप्तिमा भनेका छन् ।

‘लामो समय उक्त विभागहरूमा कसैलाई पनि जिम्मेवारी नदिई स्वच्छाचारी तवरले संचालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागहरूलाई अमान्य ठहर गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘कार्यविधिअनुसार समायोजन सम्पन्न भएका डढेलधुरा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लाहरूमा विभिन्न बहानमा रोकिएको क्रियाशील सदस्यता फारम तत्तकाल उपलब्ध गराउन माग गर्दछौं साथै तेह्रौं महाधिवेशनमा सम्पूर्ण विधि प्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका साथीहरूको क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउन माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘पार्टीको क्रियाशिल सदस्यता विधान बमोजिम सँधैका लागि खुल्ला हुने भएको हुँदा जिल्ला तहबाट नै फारम वितरण गर्ने व्यवस्थाको सुनिस्चितता गर्न आग्रह गर्दछौं’, नुवाकोटका सभापति केसीले भने ।

‘पार्टीको समायोजन कार्यविधि, निर्देशिका विपरित पार्टी समायोजनमा केन्द्रीय निर्वाचन समितिले विभिन्न जिल्लामा खेलेको भूमिका नेता प्रभावित देखिएकोले केन्द्रीय निर्वाचन समितिको विश्वसनीयताप्रति हाम्रो ध्यान आकर्षित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका क्रियाकलापहरू रोकी निष्पक्षता र तथष्टता कायम गर्न आग्रह गर्दछौं ।’

‘पार्टीका उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने, अन्य उम्मेदवारलाई सघाउनेहरू विधानअनुसार नै स्वत पार्टीबाट बरखास्त हुने प्रस्ट व्यवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘विधानअनुसार तत्काल कारवाही गरिनुपर्नेलाई नगरि अधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि प्रतिशोधको आधारमा कारर्वाही गरिएको छ । यस प्रकारका गतिविधि रोकिनु आवश्यक छ ।’

‘नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनैतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताहरूले प्रतक्ष्य अनुभुति गर्ने गरी भावी रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीले अंगिकार गरेको लोकतान्त्रिक समाजवादको सामाजिक परिभाषा, व्याख्या, योजना, निति तथा कार्यक्रम निर्माणमा नेपाली कांग्रेस पार्टीको आन्तरिक बैचारिक बहस र सम्वादलाई तिव्रता दिनेछौँ ।’

‘जिल्ला र स्थानीय तहमा क्रियाशील पार्टी पङ्तीहरूमा निरन्तर सैद्धान्तिक, बैचारिक, नविन ढंगको संगठन निर्माणका लागि अर्थपूर्ण सम्वादलाई तिव्रताका साथ अगाडि बढाउने प्रण गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘पार्टीभित्र नेतृत्वमा पुग्नको लागि पैसा, पाखुराको प्रभावबाट हैन निष्ठा, त्याग र क्षमताको आधारमा प्रतिनिधित्व हुने प्रणाली सुनिश्चितताका लागि सबै साथीहरूलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिको हकमा पार्टीको बिधान अनुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिस्चित गरियोस् ।’

‘नेपाली कांग्रेसका सभापति र केन्द्रीय समितिमा रहने नेताहरूको सम्झौतावादी नीतिका कारण लोकतान्त्रिक पद्धति कमजोर र निष्किृय प्रायः हुँदै गएको छ’, कोइराला–पौडेल निकटका सभापतिहरूले भनेका छन्, ‘पहिले देश, अनि जनता, जनतापछि पार्टी र पार्टीपछि आफू हुनुपर्ने तर आफू र आफ्ना भन्ने नीति केन्द्रीय समितिमा हावी भएका कारणले गर्दा देशको लोकतान्त्रिक पद्धति र पार्टीप्रति आम मानिस र सक्रिय साथीहरूमा वितृष्णा आएको छ । देश र जनतालाई केन्द्रमा राखेर लोकतान्त्रिक पद्धतिलाई सुदृढ गर्दै नेपाली कांग्रेसलाई जिम्मेवार बनाउने नीति लिनका लागि आग्रह गर्दछौं ।’

‘भ्रष्ट्राचार, अनियमितता, कुशासनमा चुर्लुम्म डुबेको नेकपाको सरकार, कोरोना नियन्त्रण र व्यवस्थापनमा पूर्ण रूपमा असक्षम र असफल रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो असफलता ढाक्न स्वतन्त्र मिडियाको मुख थुन्ने, फर्जी मिडिया चलाउने, धम्क्याउने, भ्रम सिर्जना गर्ने कार्य गरिरहेको छ । यस्तो कार्यको घोर भर्त्सना गर्दछौं । सरकारका अकर्मण्यताबिरुद्ध संघर्षमा उत्र्रिनै पर्ने अत्यावश्यक भएकाले त्यस प्रकारको निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रह गर्दछौं ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.