काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेको छ। त्यसैले जनतालाई आफै सुरक्षित रहन उसको आग्रह छ। कांग्रेसको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु असफल भएको निचोड निकाल्दै जनतालाई आफै सुरक्षित हुन भनेको हो।
कांग्रेस पार्टी कार्यालय सानेपामा आज भएको पत्रकार सम्मेलनमा समितिका संयोजक डा प्रकाशशरण महतले भने, ‘‘सरकारले गर्ला र हामी सुरक्षित हौँला भनेर नबसौँ। आफूले आफैलाई सुरक्षित राख्नुपर्यो। आफैले सुरक्षित हुने तरिका खोज्नुपर्यो।’’ महतले मास्क लगाउन, भौतिक दूरी अनिवार्य रुपमा कायम गर्न, स्यानीटाइजर प्रयोग गर्न र अनावश्यक बाहिर हिँडडुल नगर्न पनि सबैमा आग्रह गरे।
कांग्रेसले कोरोना नियन्त्रणको जिम्मेवारीमा प्रभावकारी नेतृत्व ल्याउन पनि माग गरेको छ। स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यवसायिकतालाई बेवास्ता गर्दा नेतृत्व प्रभावकारी हुन नसकेको भन्दै उनले क्षमताका आधारमा जिम्मेवारी दिन पनि सुझाए। कांग्रेसले आवश्यक संख्यामा भेन्टिलेटर, अस्पताल बेड, आईसीयू कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
त्यस्तै सीमा नाकाबाट प्रवेशमा कडाई, परीक्षणको दायरा बढाउन, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।