काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञहरूसँग छलफल गर्न लाग्नु भएकाे हाे ।
बढ्दो कोरोना संक्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि थप रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विज्ञहरूसँग परामर्श गरिरहेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट शुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
लकडाउन खुलेसँगै समुदायस्तरमै संक्रमण फैलिएर भयावह अवस्था आउन सक्ने चिन्ता बढ्न थालेसँगै कोरोनाविरुद्ध सरकारी रणनीति तय गर्न प्रधानमन्त्रीले छलफल गरेका हुन्।
जनस्वास्थ्य विज्ञलगायत छलफलमा सहभागीहरूबाट आएको सुझावको आधारमा संक्रमण नियन्त्रणसम्बन्धी योजना तयार गरिने बताइएको छ।
यसभन्दा अघि पनि प्रधानमन्त्रीले दुईपटक कोभिड-१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि विज्ञहरूसँग परामर्श गरेका थिए।
११ चैतबाट लागू गरिएको लकडाउन ७ साउनबाट हटाइएसँगै पछिल्लो दिनमा संक्रमितको संख्या झनै बढेको छ।
संक्रमणको जोखिम रहिरहँदा सर्वसाधारणमा लापरवाही बढेको र समुदायस्तरमा कोरोना फैलिएको टिप्पणीसहित पुन: लकडाउन गर्नुपर्ने आवाजहरू पनि उठ्न थालेका छन्।
नेपालमा अहिलेसम्म २० हजार ७५० जना संक्रमित फेला परेका छन्। तीमध्ये १४ हजार ९६१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हालसम्म कोभिड-१९ बाट ५७ जनाको मृत्यु भइसकेको छ।
लकडाउन खुलेपछि सबैभन्दा बढी हिजो एकैदिन थप ४१८ जनामा कोभिड-१९ पोजिटिभ पुष्टि भएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।