add

‘सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौँ,’






ActPro Nepal

|

१२ वैशाख, २०७७

|
857

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवनरक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छ।

प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा आज जारी सन्देशमा विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आग्रह गरेका हो।

‘सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौँ,’ सन्देशमा भनिएको छ, ‘यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा छौँ, त्यसैका कारण विगत एक महिनादेखि सिङ्‍गो देश लकडाउनमा रहन बाध्य भएको छ, लकडाउनका कारण पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा गम्भीर असर परेको सर्वविदितै छ, मलाई विश्वास छ, कोरोना भाइरसविरुद्धको यस लडाइँमा हामी विनासकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौँ।’

सन्देशमा सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाइमा विजयी हुनेछौँ भनिएको छ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माण तथा पुनर्स्थापनाको अवधारणा र अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरको रहेको र सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको उल्लेख छ। पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने स्थानीय जनसमुदाय, राजनीतिक दल तथा जनप्रतिनिधि, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी सबैलाई उनले धन्यवाद दिएका छन्।

‘अहिले लकडाउनका कारण सिङ्‍गो अर्थतन्त्र ठप्प प्रायः नै रहेको छ, यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘ यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम पनि प्रभावित हुन पुगेका छन्, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अवरुद्ध पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ, पुनर्निर्माण कार्यमा कुनै ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र संवेदनशील छ।’

आजभन्दा ठीक पाँच वर्षअघि २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकमा केन्द्रविन्दु भई विनासकारी भूकम्प गएको थियो। भूकम्प र त्यसपछिका पराकम्पबाट करिब ९ हजार व्यक्तिले ज्यान गुमाउनुपर्‍यो भने मुलुकले करिब ७ खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नुपर्‍यो।

‘त्यतिबेला कतिपय, यसरी पनि सोच्दै थिए, भूकम्पबाट क्षति पुगेका लाखौँको सङ्ख्याका निजी आवास, यतिधेरै सार्वजनिक संरचना र पुरातात्विक महत्त्वका धार्मिक एवं सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्न त सकिएला?

गर्ल्याम्मै ढलेको धरहरा फेरि उभ्याउन सकिएला? यसरी पनि तर्क गरिँदै थियो, १९९० सालको भूकम्पपछि नयाँ सडक बनेझै के अब पनि नयाँ सिर्जना हुन सक्लान्?,’ सन्देशमा भनिएको छ, ‘भूकम्पको लगत्तै एकापसमा सहकार्य र सहयोगमा जुट्यौँ पहिले उद्धार, अनि राहत र त्यसपछि पुनर्निर्माणको अभियानमा जुट्यौँ, ‘पहिलेको भन्दा राम्रो र त्यो भन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनर्निर्माण अभियान थाल्यौँ।’

‘फर्केर हेर्दा आज, विगतेका पाँच वर्षको अवधिमा भूकम्प प्रतिरोधी र आकर्षक कैयौँ संरचना बनाउन सफल भएका छौँ, निजी आवासतर्फ मात्रै हामीले करिब पाँच लाख घरको पुनर्निर्माण सम्पन्न गरिसकेका छौँ,’ सन्देशमा भनिएको छ, ‘एक लाख ९० हजार घर पुनर्निर्माणको क्रममा छन्, हालसम्म नौ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेका छन्, थप ७० वटाको योजना स्वीकृत भई पुनर्निर्माणको क्रममा छन्। यसरी व्यवस्थित र सुन्दर एकीकृत बस्ती बनिरहेका छन्, पाँच हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ।’

सन्देशअनुसार हाल ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ पुनर्निर्माणको क्रममा छन्। सम्पदा क्षेत्रका १ सय ७० मध्ये १ सय १ सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। थप ५४ सम्पदा पुनर्निर्माणको क्रममा रहेका छन्। ३ सय ४९ सरकारी भवनको पुनर्निर्माण गरिएको छ र ४९ पुनर्निर्माणको क्रममा छन्।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ। करिब नौ हजार भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ। ऐतिहासिक धरोहरका रुपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा नयाँ निर्माण कार्य अघि बढेको छ। धरहराको दशौँ तल्ला ढलान भइसकेको छ।

सम्पदा क्षेत्रमा पुनर्निर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल भएको छ। ३२ जिल्लाका सम्पदाको पुनर्निर्माण ४३.७ प्रतिशत सम्पन्न भइसकेका छन्। काठमाडौं उपत्यकाका सम्पदाको पुनर्निर्माण ५९ प्रतिशत सम्पन्न भएको छ। ‘

यसबीचमा कोरोना भाइरसको महामारी नआएको भए हाम्रो धरहरा यसका थप दुई तल्ला अग्लो ढलान भइसक्ने निश्चित थियो, मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनर्निर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो,’ सन्देशमा भनिएको छ, ‘नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो, सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न गरी त्यहाँ पूर्ववत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय स्थानान्तरणको तयारी गरिएको हुने थियो।’

‘सुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्य गर्दै आएका छौँ, यसबीचमा देखापरेका जुनसुकै समस्यालाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौँ, सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब दुई लाख मानिसले ज्यान गुमाउनुपरेको भएता पनि हामी कहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन,’ सन्देशमा भनिएको छ, ‘यस निम्ति हामीले समयमै चालेका कदमको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाईको एकता र समझदारी मुख्य कारक रहेको छ, यसरी विषम् परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।’ रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.