add

विप्लवद्वारा भ्रष्टाचार बन्द गर्न चेतावनी,कोरोना संक्रमणविरुद्धको लडाइँमा सहयोग गर्ने प्रतिबद्धता






ActPro Nepal

|

२२ चैत, २०७६

|
952

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसविरूद्ध लड्न सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका महासचिव विप्लवले उक्त कुराको जानाकारी दिएका हुन् ।

‘कोरोना भाइरस सिङ्गो मानवजातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौँ। कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ,’ उनको विज्ञप्तिमा भनिएको छ,‘पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी बनिरहेका छन्।

विप्लव समूहले चिकित्सा सामाग्री खरिदमा भ्रष्टाचार र लुटपाट तत्काल बन्द गर्न भन्दै चेतावनी समेत दिएको छ । विज्ञप्ति जारी गरी देशमा सरकारी तथा गैर सरकारी भ्रष्टाचार र लुटपाट भएको भन्दै बन्द गर्न भनिएको छ ।

‘चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामाग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ,’ विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सीमामा राकिएका नेपालीहरुलाई प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न समेत जोड दिएका छन् ।

विप्लवका १६ बुँदे सुझावहरु

१) कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ । सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ ।

२) कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ ।

३) श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ ।

४) अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ ।

५) विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ ।

६) कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (PPE) को उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ ।

७) भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ ।

८) चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ ।

९) मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ ।

१०) कोरोना सङ्क्रमण्को आशङ्कामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ । रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ ।

११) कोरोनाको सङ्क्रमणको आशङ्कामा सामान्य बिरामीसमेत अस्पतालहरूले भर्ना गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ । त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।

१२) क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ ।

१३) कोरोनाको निहुँमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ । ‘लकडाउन’ अर्थात एकान्तबास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ । यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ । यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ ।

१४) आयात गरिने सामग्री विश्व स्वास्थ्य सङ्गठनको गुणस्तरअनुसार निक्र्योल गरेर मात्र आयात गर्नुपर्छ ।

१५) नेपाल–भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ ।

१६) परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम्सेवकहरूको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ ।

गर्ने काम

१) कोरोना भाइरस सिङ्गो मानवजातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौँ ।

२) कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ ।

३) पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी बनिरहेका छन् । आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य सङ्गठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पुर्याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ ।

४) भाइरसविरुद्धको सङ्घर्षमा व्यक्त पुँजीवादी अराजकता, सामाजिक सद्भाव बिथोल्ने र जनअनुत्तरदायी शैलीका विरुद्ध समाजवादी अनुशासन, जनसेवा र जनएकतालाई प्रोत्साहित गर्नेछ ।

५) कोरोना भाइरसजस्तो महामारीलाईसमेत मुनाफा सोहोर्ने, भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गर्ने सामाजिक दलाल पुँँजीवादी सरकारको भण्डाफोर गर्नेछ ।

६) कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सरकारको असफलता र अस्तव्यस्तताका बावजुत जनताले अपनाएको संयमप्रति धन्यवाद दिन चाहन्छ र आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन अपिल गर्दछौँ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.