काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा यस आर्थिक वर्ष उल्लेखनीय प्रगति भएको छ। सन् २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी योजना कार्यान्वयनमा ल्याइएसँगै ऊर्जा विकासको गतिलाई नयाँ दिशा दिएको छ। आन्तरिक खपत र बाह्य बजारका सम्भावनालाई ध्यानमा राखेर तयार पारिएको ऊर्जा मार्गचित्रले दीर्घकालीन ऊर्जा रणनीतिलाई स्पष्ट दिशानिर्देश गरेको छ।
विशेषगरी नेपालले पहिलो पटक भारतीय प्रसारण लाइन प्रयोग गर्दै बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरी ऐतिहासिक उपलब्धि हात पारेको छ। यो उपलब्धिले नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा व्यापारको सम्भावना थप प्रष्ट पारेको छ। तीन देशबीच त्रिपक्षीय सम्झौता भई अमेरिकी डलरमा विद्युत् बिक्री सुरु गर्नु नेपालका लागि अर्को उपलब्धि बनेको छ।
यता, भेरी बबई डाइभर्सन जस्ता आयोजनाहरूले अपेक्षाअनुसार प्रगति गरेको छ भने सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सकिएको छ। त्यस्तै, नारायणी नदीपारि सुस्तामा राष्ट्रिय ग्रिड विस्तार गरिएको छ। त्रिशूली थ्री बी हब सबस्टेशन तथा चिलिमे २२० केभी लाइन निर्माण सम्पन्न भई रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ।
सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्फत प्रसारण लाइन निर्माण अघि बढाएको छ। ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत गरिब तथा विपन्न वर्गलाई बिनाधितो, सहुलियत दरमा सेयर दिने नीति कार्यान्वयनको चरणमा पुगेको छ।
अर्कोतर्फ, नेपाल र भारतबीच उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने सहमति भएका छन्। निजगढ–हरनैया–मोतीहारी, कोहलपुर–लखनउ र इनरुवा–पूर्णिया लगायत ४०० केभी क्षमताका लाइनहरू आगामी वर्षहरूमा निर्माण गरिनेछ। चमेलिया–जैलिजीवी २२० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणले भारतमा एक अर्ब ६६ करोड युनिट बिजुली निर्यात गरी १२ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ। निजी क्षेत्रले पनि निर्यात अनुमति माग गरिरहेकाले नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणका सहमतिले नयाँ अवसर सिर्जना गर्ने देखिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अमेरिकी सहयोगमा निर्माण हुन लागेको न्यू बुटवल सबस्टेशन तथा प्रसारण लाइन परियोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायतमा गतिशीलता देखिएको छ। संसद्मा विद्युत् विधेयक पारित भएपछि निजी क्षेत्रलाई निर्यात अनुमति दिने सरकारको तयारी छ।
समग्रमा यस वर्षको ऊर्जा क्षेत्रमा देखिएको गति र कूटनीतिक सहकार्यले आगामी दिनमा नेपाललाई ऊर्जा व्यापार केन्द्रका रूपमा उभ्याउने विश्वास गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।