काठमाडौं । पछिल्लो समय हरेक वित्तीय कारोबारमा कडाइ भएसँगै शंकास्पद कारोबारको मात्रा पनि बढेको छ।
‘फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) नेपाल’ द्वारा सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार शंकास्पद कारोबार (सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ/एसटीआर र सस्पिसियस एक्टिभिटी रिपोर्टिङ-एसएआर) का उजुरीहरू अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएका छन्। आर्थिक वर्ष २०७९/८० मा ५ हजार ३३५ वटा उजुरी परेकोमा २०८०/८१ मा बढेर ७ हजार ३३८ पुगेको छ।
वाणिज्य बैंकमार्फत सबैभन्दा धेरै ८४.२३ प्रतिशत उजुरी परेका छन् भने विकास बैंकबाट ७ प्रतिशत, वित्त कम्पनीबाट ३ प्रतिशत, भुक्तानी प्रणाली सञ्चालकबाट २.४५ प्रतिशत, र रेमिट्यान्स कम्पनीबाट २.४६ प्रतिशत उजुरी प्राप्त भएका छन्। गत वर्ष मात्र २३ अर्ब २६ करोड २२ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबारको उजुरी परेको छ, जसमा ३ हजार ४१७ वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी, २ हजार ४९८ कर छलीलगायत आर्थिक अपराधसँग सम्बन्धित, २ हजार १७ मौद्रिक तथा बैंकिङ अपराधसँग सम्बन्धित, ९२७ ठगीसम्बन्धी, ६८१ फार्म तथा साझेदार व्यवसायसँग सम्बन्धित, ४२८ क्यासिनो तथा जुवासम्बन्धी रहेका छन्।
नेपालमा वित्तीय अपराध नियन्त्रण गर्न मनी लाउन्डरिङ निवारण ऐन, २०६४ लागू गरिएको छ, जसअनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी रोकथाम गर्न गोएएमएल प्रणाली सञ्चालनमा ल्याइएको छ। सन् २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन सम्पन्न भई एक वर्षको अवलोकन अवधिमा नेपालले विविध सुधार गरेको छ, तर नेपाल अझै पनि वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को थप अनुगमन सूचीमा रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा अनुसन्धानकारी निकाय तथा नियामक निकायको संख्या १ हजार ६३९ पुगेको छ, जुन पछिल्ला वर्षहरूमा क्रमिक रूपमा वृद्धि हुँदै गएको देखिन्छ। सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रण गर्न नियमनकारी निकायहरूले अझ कडा निगरानी बढाउनु आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।