काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइले) ले शुक्रबार भएको राजावादीको आन्दोलनका क्रममा भएको जनधनको नोक्सानीको क्षतिपूर्ति भराउन माग गरेको छ ।
महासंघले एक प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंस्रक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्सर्ना गर्दै क्षतिपूर्ति हुनुपर्ने माग राखेको छ ।
संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय भएको महासंघको भनाइ छ ।
कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
‘विभिन्न माग राखी हुने गरेका आन्दोलनरप्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासघले भनेको छ ।
२०८१ चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमणप्रति महासंघले दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना पनि महासंघले गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।