काठमाडौं । राजावादी र समाजवादी मोर्चाको विशाल प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। दुबै पक्षले आआफ्नो शक्ति प्रदर्शनका लागि आयोजना गरेका र्याली र सभाका कारण काठमाडौंका मुख्य सडकहरुमा यातायात आवागमनमा समस्या उत्पन्न भएको हो।
समाजवादी मोर्चा नेपालले प्रदर्शनीमार्गमा मञ्च तयार पारेपछि सो क्षेत्र बिहानैदेखि सवारी आवागमनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। रत्नपार्कदेखि भद्रकालीसम्मको सडक, प्रदर्शनीमार्ग, भृकुटीमण्डपलगायतका मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई गन्तव्यमा पुग्न समस्या भएको छ।
यसैगरी, काठमाडौंको तीनकुने, बानेश्वर र माइतीघर क्षेत्रमा पनि यातायात अवरुद्ध भएको छ। ट्राफिक प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गमा डाइभर्सन गरे पनि अन्य क्षेत्रका सडकमा सवारी जाम बढेको छ। यात्रुहरू गन्तव्यमा पुग्न निकै समस्या भोगिरहेका छन्।
आज दिउँसोबाट तीनकुनेमा राजावादीहरूले विशाल प्रदर्शन आयोजना गरेका छन् भने भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा सभा आयोजना गर्ने कार्यक्रम छ।
दुवै पक्षले एकअर्काविरुद्ध आक्रामक रूपमा शक्ति प्रदर्शन गर्दै सडकमा उपस्थिति जनाएका छन्। प्रदर्शनको क्रममा कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरीले प्रमुख स्थानमा सुरक्षा बल परिचालन गरेको छ। त्रिपुरेश्वरदेखि रत्नपार्कसम्मको सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा पनि सुरक्षा सतर्कता बढाइएको छ।
समाजवादी मोर्चाले आजको प्रदर्शनमा एक लाखभन्दा बढी मानिस उतार्ने दाबी गरेको छ। दुवै पक्षको शक्ति प्रदर्शनलाई जनसमर्थन परीक्षणको रूपमा हेरिएको छ भने राजनीतिक वृत्तमा पनि व्यापक चासो बढेको छ। जनप्रदर्शनले काठमाडौंको जनजीवनमा ठूलो असर पारेको छ भने सर्वसाधारणले यातायातको समस्या र असहजताको सामना गरिरहेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।