काठमाडौं । टोखा वडा नं. ९ को नयाँबसर्पाकसँगको सिमाना रहेको विष्णुमती करिडोरमा अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको १ करोड ९८ लाख २२ हजार बजेटमा पार्क निर्माण हुनेछ ।
आज टोखा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी र टोखा ९ का वडाअध्यक्ष रामभक्त घिमिरेले संयुक्त रूपमा पार्कको जग पुजा गरेर शिलान्यास गरेका छन् ।
पार्क निर्माण हुने नयाँबसपार्कको सिमानासँग जोडिएको क्षेत्रमा ८२ अस्थायी व्यवसायिक टहरा, सामुदायिक सेवा केन्द्रको भवन लगायतका पक्की भवनहरु नगरपालिकाले हटाउने कार्य गरेको थियो । सो स्थानमा टोखा वडा नं. ९ ले आवश्यक सहजिकरण गर्नेछ । अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको बजेटबाट पार्क निर्माण हुनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखा–९ को स्थानीयबासीको लामो समयदेखिको मागअनुसार पार्क निर्माण कार्य अगाडी बढेको बताएका छन् । अधिकारीले पार्क बनाउन सहजिकरण गरिदिने व्यवसायीहरुलाई धन्यवाद दिएका छन् । व्यवसायीहरुले कुनै उपयुक्त स्थान खोजे अस्थायी टहरा निर्माणका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले भूकम्पले पनि अति नै जोखिम क्षेत्र भएकाले खुल्ला स्थान बनाउनुपर्ने स्थानीयहरुको मागअनुसार पार्क तथा उद्यान निर्माण गर्न लागेको बताएका छन् । महानगरको नयाँबसर्पाक क्षेत्र र टोखा नगरपालिकाको संगमस्थल भएकाले यस क्षेत्रमा सुन्दर पार्क बनाइने बिसीले बताएका छन् । पार्कको निर्माण कार्य समयसिमा भित्रै हुने बताएका छन् ।
टोखा ९ का वडाअध्यक्ष रामभक्त घिमिरेकाअनुसार नगरपालिकाले जग्गा खाली गर्ने कार्य सम्पन्न गरेकाले अब पार्क निर्माणको लागि शिलान्यास गरेका छौं । बाग्मती सभ्यता एकीकृत विकास समितिले ३ करोड ६ लाख बजेटमा पार्क निर्माण गर्ने गरी टेण्डर खुलाएको थियो १ करोड ९८ लाख २२ हजारमा टेण्डर टोखाकै स्थानीयले पारेर पनि काम सुरुवात भएको छ । यस पार्कभित्र खुल्ला व्यायमशाला, जेष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क र अपाङ्गमैत्री शौचालयसहितको पार्क १ वर्ष भित्र बन्नेछ । पार्कभित्र नेपालको झण्डा र नगरपालिकाको सूचना दिने डिजिटल बोर्ड समेत पार्कमा रहनेछ । यस पार्क निर्माणपछि टोखाको समग्र विकासको झल्को यहाँबाट देखिन्छ ।
शिलान्यास कार्यक्रममा टोखाका जनप्रतिनिधीहरु, नगर प्रहरि, कर्मचारी, प्राविधिक, अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका वरिष्ठ इन्जिनियर तथा स्थानीय समाजसेवीहरुको बाक्लो सहभागिता रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।