काठमाडौं । सेयर बजारमा लगातार गिरावट आइरहेको छ । आइतबारदेखि नै ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि घट्ने क्रममा रह्यो ।
मंगलबार नेप्से परिसूचक ७.६६ अंकले घटेर २,६९७.०४ बिन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ६ करोड रुपैयाँले घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य बाहेक सबै समूहको परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ०.७० प्रतिशतले ओरालो लागेको छ ।
आज पनि सबैभन्दा धेरै कारोबार भएको कम्पनी हिमालयन रि-इन्स्योरेन्स रहेको छ । यस कम्पनीको ३२ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार हुने कम्पनी घलेम्दी हाइड्रोपावर रहेको छ, जसको २२ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ । घट्दो बजारमा पनि मिथिला लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशत कमाएका छन् । त्यस्तै, हिमालयन पावरको सेयर मूल्य ९.९० प्रतिशतले वृद्धि भएको छ ।
यता, सामुदायिक लघुवित्तका सेयरधनीले सर्वाधिक ८.२१ प्रतिशत गुमाएका छन् । लगातारको गिरावटले लगानीकर्तामा निराशा छाए पनि केही कम्पनीका सेयरधनीले भने राम्रो नाफा कमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।