add

८ महिनामा १४ खर्ब ५५ अर्बको सेयर कारोबार, हाइड्रोपावरको हिस्सा एकतिहाइ






ActPro Nepal

|

३ चैत, २०८१

|
412

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा साढे १४ खर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार साउनदेखि फागुन मसान्तसम्म कुल १४ खर्ब ५५ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा कुल ३ अर्ब २५ करोड ९४ लाख कित्ता सेयर किनबेच भएको नेप्सेको तथ्यांक छ। औसतमा दैनिक झन्डै १० अर्ब रुपैयाँको सेयर कारोबार भइरहेको छ।

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु आवमा सेयर कारोबार २५०.१५ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ८ महिनामा कुल ४ खर्ब १५ अर्ब ७८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा चालु आवमा बढेर १४ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो। नेप्से परिसूचक बढेसँगै कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष २२०० बिन्दु माथि उक्लिन नसकेको नेप्से चालु आवमा ३ हजार बिन्दुसम्म पुगेको थियो।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठनका लागि सहमति जुटेपछि नेप्से तीव्र रूपमा बढेको थियो। असार १७ मा २ हजार बिन्दुमा रहेको नेप्से डेढ महिनाभित्र ३ हजार बिन्दु पुगेको थियो। तर, भदौयता नेप्से ओरालो लाग्दै २४०० बिन्दुसम्म झरेको थियो, जुन अहिले २७०० बिन्दु हाराहारीमा पुगेको छ। साउनमा सूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको थियो, जहाँ एकै दिन ३० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो।

हाल अर्थतन्त्रका अधिकांश सूचक सेयर बजारमैत्री रहे पनि अपेक्षित गतिमा वृद्धि हुन सकेको छैन। बैंकिङ प्रणालीमा तरलता अधिक रहेकाले बैंकहरूमा ६ खर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएको छ। बैंकहरूको ब्याजदर तीन वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। नेपाल राष्ट्र बैंकले पनि सेयर बजारलाई प्रवद्र्धन गर्न नीतिगत लचकता अपनाउँदै आएको छ। सेयर कर्जाको जोखिमभार घटाउने र संस्थागत सेयर धितो कर्जाको सीमा खारेज गर्ने निर्णयले सेयर कारोबारमा सुधार आएको देखिन्छ।

यस अवधिमा लगानीकर्ताको मुख्य रोजाइ हाइड्रोपावर कम्पनीहरू रहेका छन्। कुल सेयर कारोबारको झन्डै एकतिहाइ अर्थात् ४ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको कारोबार हाइड्रोपावर कम्पनीहरूले ओगटेका छन्। फाइनान्स कम्पनीहरूको कारोबार दोस्रो स्थानमा रहेको छ, जसअन्तर्गत १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। वाणिज्य बैंकहरू तेस्रो स्थानमा रहेका छन्, जहाँ १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।


यसैगरी, विकास बैंकहरूको १ खर्ब १६ अर्ब, लगानी समूहको १ खर्ब ३ अर्ब, लघुवित्तको १ खर्ब २ अर्ब, अन्य समूहको ८७ अर्ब, जीवन बीमा कम्पनीहरूको ८२ अर्ब, निर्जीवन बीमा कम्पनीहरूको ५९ अर्ब, उत्पादनमूलक कम्पनीहरूको ५९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। होटल समूहमा २८ अर्ब, प्रमोटर सेयरमा १८ अर्ब, व्यापार समूहमा ५ अर्ब, म्युचुअल फन्डमा पौने ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा कम कारोबार भने डिबेन्चरमा मात्र २ अर्ब ३० करोड रुपैयाँ भएको छ।

बजारमा लगानीकर्ताको आकर्षण बढ्दो देखिए पनि आगामी दिनमा सेयर बजारले कस्तो गति लिन्छ भन्ने विषयमा लगानीकर्ताहरू आशावादी छन्। अधिकांश आर्थिक सूचक सकारात्मक देखिएकाले आगामी दिनमा बजार अझै सशक्त बन्ने अपेक्षा गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.