add

नेपाल आइडल सिजन ६ को अडिसन चैत्रको पहिलो हप्तादेखि






ActPro Nepal

|

१९ फागुन, २०८१

|
394

काठमाडौँ ।  एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन ६ को अडिसन चैत्र महिनाको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।

यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखिएको छ। नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।

यसपटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ।

यस सिजनको निर्णायक मण्डलमा सुरुवाती तीन सिजन तथा पाँचौं सिजनका निर्णायकहरू न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन् भने कार्यक्रम प्रस्तोता आसिफ शाह हुनेछन्। अडिसन चरण अन्तर्गत झापाको सुनसरी, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज हुँदै संघीय राजधानी काठमाडौंमा ओपन अडिसन गरिनेछ।

नेपाल आइडलले आफ्नो यात्रा सन् २०१७ मा सुरु गरेदेखि अहिलेसम्म १५० भन्दा बढी एपिसोड प्रसारण गरिसकेको छ। यसले नेपाली संगीत प्रेमीहरूलाई एउटै मालामा गाँसेर, नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। हालसम्म नेपाल आइडलका पाँच विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार रहेका छन।

नेपाल आइडलको सिजन ६ को टाइटल स्पोन्सर को रुपमा कोकाकोला रहेको छ भने एक्सकुसिभ भोटिङ पार्टनरको रुपमा ईसेवा रहेको छ । नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ। समयअनुसार केही परिमार्जन र नवीनता समेट्दै सिजन ६ प्रस्तुत गरिनेछ, जसले नेपाली दर्शकमाझ अझ गहिरो प्रभाव पार्ने विश्वास लिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.