काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारको काम ६० प्रतिशत सकिएको छ ।
विमानस्थलको ट्याक्सी वे र धावनमार्ग जोड्ने लिङ्क वे तथा जहाज पार्किङ क्षेत्रलाई एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फको विस्तारको काम ६० प्रतिशत पूरा भएको हो ।
विमानस्थलको क्षमता विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पुर्याउनका लागि सुरु गरिएको काम तोकिएको समयमै सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
कात्तिक २३ देखि माघ १८ सम्म १० घण्टा विमानस्थल बन्द गरी सुरु गरिएको धावनमार्गको ७५ मिटर वरपरको काम समयमै सकिएपछि माघ १९ देखि थप दुई घण्टा उडान सञ्चालन गरिएको थियो । माघ २० गतेभित्र धावनमार्ग थप एक घण्टा सञ्चालन हुने उनले बताए ।
हाल विमानस्थल बेलुका ११ बजेदेखि बिहान ७ बजेसम्म पूर्ण रूपमा बन्द रहँदै स्तरोन्नतिको काम भइरहेको छ । विमानस्थल चैत १८ गतेदेखि पूर्ण सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ ।
धावनमार्गको दुवै विन्दुतर्फका समानान्तर ट्याक्सी वे र धावनमार्ग जोड्ने लिङ्क वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्याङ्गर क्षेत्रतर्फ भइरहेको विस्तार सम्पन्न भएपछि वार्षिक एक करोड हवाई यात्रुले उड्डयन सेवा लिने पूर्वाधार तयार हुने प्राधिकरणले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।