काठमाडौं । वैदेशिक व्यापार लयमा फर्किन थालेको छ । आर्थिक शिथिलताका कारण २ वर्ष यता खुम्चिँदै आएको वैदेशिक व्यापार दुई महिना यता लयमा फर्किन थालेको हो ।
पछिल्लो समय आर्थिक गतिविधमा केही सुधार आएसँगै बजारमा उपभोग्य वस्तुको पनि माग बढ्न थालेकाले आयात र निर्यात ह्वात्तै बढेको छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सातौं महिना (साउन-माघ)को वैदेशिक व्यापार तथ्यांकले बजारमा उपभोग्य वस्तुको माग बढेको देखाएको हो ।
चालु आर्थिक वर्षको सुरुदेखि नै आयात खस्किँदो क्रममा थियो तर, मंसिरदेखि लगातार आयात बढेको हो । भन्सार विभागका अनुसार माघमा महिनामा १ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ बढीको वस्तु आयात भएको हो । यो डेढ वर्ष यताकै धेरै हो । पुसमा पनि १ खर्ब ६० अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको थियो ।
असारमा एक महिनामै डेढ खर्बको वस्तु आयात भएको थियो । त्यसयता लगातार घटेर कात्तिकमा १ खर्ब २३ अर्ब रुपैयँँमा सीमित भएको थियो । मंसिरदेखि बढ्न थालेको आयात माघमा बढेर १ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको हो ।
पुसको तुलनामा माघमा आयात साढे ५ अर्ब रुपैयाँ बढेको हो । विभागका अनुसार चालु आवको ७ महिनामा कुल ९ खर्ब ८८ अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १०.०९ प्रतिशतले धेरै हो । गत वर्ष ७ महिनामा कुल ८ खर्ब ९७ अर्ब रुपैयाँको आयात भएको थियो ।
पछिल्लो समय आर्थिक गतिविधि बढ्दा बजारमा उपभोग्य वस्तुको माग बढ्न गई आयात पनि बढेको हो । हिउँद लागेसँगै निर्माण गतिविधि बढेका छन् । जसकारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको आयात बढ्दा समग्रमा आयात पनि बढेको हो । अहिले डण्डी, सिमेन्ट लगायत उद्योगहरूले कच्चा पद्धार्थको आयात बढाएको देखिन्छ ।
निर्यात साढे ४६ प्रतिशतले बढ्यो
चालु आवमा निर्यात ह्वात्तै बढेको छ । विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष निर्यात ४६.५ प्रतिशत बढेको हो । माघसम्म नेपालबाट १ खर्ब २७ करोड रुपैयाँको वस्तु विदेशिएको छ । गत वर्ष यही अवधिमा ८६ अर्ब ८३ करोडको वस्तु निर्यात भएको थियो ।
माघमा मात्रै २९ अर्बको सामान निर्यात भएको छ । महिनै पिच्ने निर्यात बढ्दै गएको विभागको तथ्यांक छ । मंसिरमा २१ अर्बको वस्तु निर्यात भएको थियो भने पुसमा २५ अर्बको विदेशिएको थियो । चालु आवको पहिलो तीन महिना घट्दो क्रममा रहेको निर्यात कात्तिकदेखि भने लगातार बढ्न थालेको हो ।
व्यापार घाटा पनि बढ्यो
आयात बढेसँगै व्यापार घाटा पनि बढेको छ । चालु आवको माघसम्म गत वर्षको तुलनामा व्यापार घाटा ६.२० प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा व्यापार घाटा ५० अर्बले बढेर ८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ थियो ।
माघसम्म कुल ११ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३.३० प्रतिशत धेरै हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।