add

आगामी आर्थिक वर्षको बजेटका लागि १९ खर्बको सिलिङ






ActPro Nepal

|

७ फागुन, २०८१

|
100

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेटको सिलिङ दिइएको छ ।

राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले अर्थ मन्त्रालयमा पेस गरेको राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१ मा उक्त सिलिङ तोकिएको हो ।

प्रतिवेदनले अर्थ मन्त्रालयलाई आगामी वर्षको बजेट करिब १९ खर्बको सीमाभित्र रहेर बनाउन सुझाव दिएको हो । आयोगका उपाध्यक्ष संयोजक रहने समितिले चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा साढे १२ प्रतिशत बढाएर बजेटको सिलिङ दिएको हो ।

त्यसैगरी, आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सम्बन्धी मार्ग दर्शन पनि अर्थ मन्त्रालयमा पेस गरेको छ ।

सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएकोमा लक्ष्य नभेटिने भएपछि अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार १ खर्ब ६७ अर्ब रुपैयाँले घटाएको छ । चालु आवको संशोधित बजेटको आकार १६ खर्ब ९३ अर्ब रुपैयाँ कायम गरिएको छ । समितिले चालु आवको संशोधित खर्च अनुमानभन्दा पनि २ खर्ब ७ अर्ब २७ करोड रुपैयाँले बढी हुने गरी आगामी आवको बजेटको सिलिङ दिएको हो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटमा स्रोत सुनिश्चित नभएका धेरै कार्यक्रम राखिएको, हचुवाका भरमा आयोजना छनोट गरिएको, हजारका आयोजना पनि केन्द्रमा राखिएको लगायत कारण देखाउँदै अर्थमन्त्री विष्णु पौडेलले बजेटलाई संशोधन गरेका हुन् ।

सरकारले चालु वर्षमा विनियोजन गरेको चालुतर्फ १० खर्ब २९ अर्ब ३० करोड (९०.२४ प्रतिशत), पूँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख (८५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड २६ (९९.०९ प्रतिशत) खर्च हुने अनुमान छ ।

सरकारले चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, ७ महिनामा लक्ष्यको ४५.८६ प्रतिशत (६ खर्ब ५० अर्ब ९४ करोड) रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

सरकारले सुरुमा निर्धारित लक्ष्य अनुसार राजस्व संकलन नभएपछि संशोधन गरेर १२ खर्ब ८६ अर्ब ९८ करोड रुपैयाँमा झारेको छ । स्रोत समितिले आगामी वर्ष चालु आवको संशोधित अनुमानभन्दा साढे ४ खर्बले बढी हुने गरी १४ खर्ब ३० अर्ब हाराहारी राजस्व संकलन हुने अनुमान गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.