काठमाडौं । सरकारले सुपारी, मरिच (कालो तथा सेतो) र केराउको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको हो ।
मन्त्रालयले यी वस्तु आयातमा लगाउँदै आएको परिमाणात्मक बन्देज समेत हटाउँदै आयात खुलाएको हो । बिहीबार प्रकाशित राजपत्रमा उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रूपमा केराउ, सुपारी, मरिच पैठारी गर्न अनुमति दिने उल्लेख छ ।
तर, कति परिमाणमा दिने खुलाइएको छैन । परिमाण नखुलाउनुको अर्थ उद्योगहरूले आफू अनुकूल जति परिमाणमा पनि सुपारी, केराउ र मरिच आयात गर्न पाउने छन् । यसअघि निश्चित परिणाम तोकेर मात्रै आयात गर्न दिइँदै आएको थियो ।
तस्करी गरेर मनग्ये नाफा कमाउन पाउने भएपछि बिचौलियाहरूले परिमाणत्मक बन्देज हटाउन सरकारसँग लबिङ गर्दै आएका थिए । व्यापारीले अन्यदेशबाट सुपारी आयात गर्ने र भारतर्फ तस्कर गर्दै आएका छन् ।
सुपारी, केराउ, मरिच र छोकडाको तस्करी बढेपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७६ चैत २४ गते निकासी पैठारी (नियन्त्रण) ऐनको व्यवस्था अनुसार यी वस्तु पैठारीमा बन्देज लगाएका थिए । तर, २०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशन गर्दै परिमाणात्मक बन्देज लगाउँदै आयात खुलाइएको थियो । अहिले उक्त परिमाणत्मक बन्देज पनि हटाइएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा सरकारले उत्पादनमूलक उद्योगलाई कच्चा पद्धार्थको रुपमा वार्षिक सुपारी २५ हजार टन, केराउ ८० हजार टन, छोकडा ५ हजार टन, नधुलाएको मरिच १५ हजार टन आयात गर्न सक्ने गरी परिमाणात्मक बन्देज लगाइएको थियो । त्यसयता सुपारी, केराउ र मरिच पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ बनाएर वर्षेनी आयातको अनुमति दिइएको थियो । अहिले उक्त कार्यविधि नै खारेज गरेर परिमाणत्मक बन्देज हटाइएको हो ।
नयाँ उद्योगले पनि आयात गर्न पाउने
मन्त्रालयले नयाँ खुलेका उद्योगलाई समेत सुपारी, केराउ र मरिच आयातको अनुमति दिएको छ । यसअघि सुपारी आयात गर्न कम्तीमा पनि उद्योग संचालनमा आएको हुनपर्ने व्यवस्था थियो ।
‘नयाँ स्थापना भएका उद्योगको हकमा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि भ्याट, प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि र उद्योगको उत्पादन क्षमता उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि चाहिन्छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा लगायतको विवरण पेस गर्नुपर्छ ,’ राजपत्रमा भनिएको छ ।
सञ्चालनमा रहेका उद्योगले यी वस्तु आयात गर्दा उद्योग दर्ता प्रमाणपत्र, कम्पनी अद्यावधिक भएको पत्र र भ्याट–प्यान दर्ताको प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, सञ्चालन अवस्था, चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा गर्नुपर्ने राजपत्रमा उल्लेख छ ।
त्यस्तै, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षमा कच्चा पदार्थ पैठारी गरेको भए पैठारीको परिमाण, त्यसको उपयोगबाट भएको उत्पादन र बचत परिमाण लगायतको विवरण पनि पेस गर्नुपर्नेछ ।
नेपालमा इन्डोनेसिया, मलेसिया लगायत देशबाट सुपारी आयात हुन्छ । चालु आर्थिक वर्षको ६ महिना ४१ करोड १७ लाखको सुपारी आयात भएको छ । गत आर्थिक वर्षमा १ अर्ब ५ करोड ८४ लाखको सुपारी आएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।