काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न नहुने बताएका छन्।
नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार समारोह’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गीतसङ्गीत सभ्य र सुसंस्कृत समाजको परिचय भएकाले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्ने बताएका हुन्।
राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्याउनुभएको योगदान अनुकरणी छ रहेको चर्चा गर्दै नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत सङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको बताए।
'विशेषत: नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ,' उनले भने।
संगीतको शक्ति अपरम्पार रहेको र यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि रहेको भन्दै राष्ट्रपति पौडेलले बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्द्रिय एकतालाई बलियो बनाउने आधार रहेको बताए।
उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि रहेको बताउँदै नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र सङ्गीत रहेको बताए।
'यसले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउँछ,' उनले भने।
राष्ट्रपति पौडेलले नातिकाजी स्मृति समाजले नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील स्रष्टालाई सम्मान गर्ने परम्परा बसालेर प्रशंसनीय कार्य गरेको बताउँदै स्रष्टाहरूलाई थप प्रेरणा र ऊर्जा थपेर सम्पूर्ण नेपाली गीतसङ्गीत क्षेत्रको विकासमा योगदान दिने मैले विश्वास लिएको उल्लेख गरे।
त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सङ्गीत महर्षी एवं बहुप्रतिभाका धनी नातिकाजी शब्द, सङ्गीत र स्वरको त्रिवेणी भएको चर्चा गर्दै देशभित्र आशा जगाउने किसिमले नातीकाजीले राष्ट्रभक्तिका कालजयी गीतहरू गाएको बताए।
समाजका अध्यक्ष एवं वरिष्ट सङ्गीतकार शम्भुजित बास्कोटाले सङ्गीत महर्षी नातिकाजी श्रेष्ठको १००औँ जन्मजयन्तिको अवसरमा देशका नयाँ पुराना गीत सङ्गीत साधकहरूलाई सम्मान एवं पुरस्कृत गरिएको जानकारी दिए।
त्यस अवसरमा नातिकाजीले गाएका ‘नेपाली हामी रहूँला कहाँ, नेपालै नरहे’, ‘यो नेपाली शीर उचाली’ बोलका गीत सहित अन्य राष्ट्रभक्तिले ओतप्रोत गीतहरू प्रस्तुत गरिएको थियो । नवगायिका स्मीता दाहालले तारादेवीको गीत ‘साँगुरी वारि नि हौ, त्यो धारा पानी’ बोलको गीत प्रस्तुत गरेकी थिइन्।
नातिकाजी स्मृति समाजका अनुसार नातिकाजीले ३३७ वटा आधुनिक नेपाली गीत, ९१ वटा देशभक्ति गीत, १० वटा बाल गीत र १९० वटा भजनमा संगीत दिएका छन्। साथै उनले २२ वटा जति गीतिनाटकमा संगीत दिएका छन्।
विसं २०६० कात्तिक १६ गते निधन भएका नातिकाजीको स्मृतिमा २०६२ सालमा नातिकाजी स्मृति समाज स्थापना भएको थियो। यस संस्थाले नातिकाजीको योगदानलाई चिरस्थायी बनाउन हरेक वर्ष गीत सङ्गीतका क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुका साथै उनका योगदानमाथि चर्चा गर्ने गरेको छ।
समाजले स्थापना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मानबाट वरिष्ट सञ्चारकर्मी धन लामा, गतिकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी क्रोधी, यशोदा पराजुली, विमल भौकाजी, प्रकाश सायमीलाई सम्मानित गरिएको छ।
यस्तै, नातिकाजी राष्ट्रिय सङ्गति पुरस्कारबाट गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, सङ्गीतकार आशिष अविरल र सङ्गीत संयोजक सम्राट थापा सम्मानित भए। नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गीत रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मीता दाहाल र सङ्गीतकार कल्याण सिंह सम्मानित भए।
नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरकारबाट डा. रमेश पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी नातिकाजी राष्ट्रिय कला पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाल सम्मानित भए।
नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार भने लोक गायकहरू रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विकले प्राप्त गरे। सम्मानित सबै कलाकर्मीलाई राष्ट्रपति पौडेलले सम्मानपत्र सहितले सम्मानित गरेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।