काठमाडौं । नेपाल टेलिकमको खुद नाफा उच्च गिरावट आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३२.९७ प्रतिशतले घटेको छ ।
चालु वर्षको पुस मसान्तसम्म टेलिकमले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १ अर्ब ३० करोड रुपैयाँ कम हो । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी घट्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १.४ प्रतिशत घटेर १७ अर्ब रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी ३८.११ प्रतिशतले घटेर २ अर्ब ५१ करोडमा झरेको छ ।
हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ संचित छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १४.४० रुपैयाँ घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४३.६८ रुपैयाँबाट घटेर २९.२८ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।