add

प्रदेशहरूको बजेट खर्च निराशाजनक : मधेशको ५.६१ प्रतिशत मात्रै, अरूको कति ?






ActPro Nepal

|

२७ माघ, २०८१

|
93

काठमाडौं । बजेट खर्च गर्नमा प्रदेश सरकारहरू केन्द्र सरकारभन्दा पनि कमजोर देखिएका छन् । केन्द्र सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (पुससम्म) कुल बजेटेको ३५.८९ प्रतिशत खर्च गरेकोमा प्रदेश सरकारहरूले औसतमा १६ प्रतिशत मात्रै खर्च गरेका हुन् ।

सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६.१८ प्रतिशत मात्रै छ । कूल रू. २ खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेश सरकारले पुस मसान्तसम्ममा रू. ४५ अर्ब ९ करोड ३८ लाख बराबर मात्रै खर्च गरेका हुन् ।

मधेस प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ । चालु आवका लागि कूल रू. ४३ अर्ब ८९ करोड २२ लाखको बजेट ल्याएको मधेस प्रदेशले पुस मसान्तसम्ममा रू. २ अर्ब ४६ करोड २ लाख मात्रै खर्च गरेको छ । यो वार्षिक विनियोजनको ५.६१ प्रतिशत हो । पूँजीगत शीर्षकमा रू. २७ अर्ब ८९ करोड छुट्याएको मधेस प्रदेशले उक्त विनियोजनको एक प्रतिशत मात्रै खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १४.८२ प्रतिशत मात्रै खर्च गरेको छ । कूल रू. ३१ अर्ब ६२ करोड १९ लाखको बजेट ल्याएको सुदूरपश्चिमले पुस मसान्तसम्ममा रू. ४ अर्ब ६८ करोड ७० लाख खर्च गरेको छ ।

त्यसैगरी, कर्णाली प्रदेशले १५.१४ प्रतिशत खर्च गरेको छ । चालु आवका लागि रू. ३१ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णालीले पुस मसान्तसम्ममा रू. ४ अर्ब ७५ करोड ४७ लाख खर्च गरेको छ ।

लुम्बिनी प्रदेशले कूल रू. ३८ अर्ब ९७ करोडको वार्षिक बजेट ल्याएको थियो । लुम्बिनीले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १९.३६ प्रतिशत अर्थात् रू. ७ अर्ब ५३ करोड ६१ लाख बराबर खर्च गरेको छ ।

गत पुस मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च वार्षिक विनियोजनको १९.३६ प्रतिशत छ । कूल रू. ३२ अर्ब ९७ करोड ८६ लाखको वार्षिक बजेट ल्याएको गण्डकी प्रदेशले पुस मसान्तसम्ममा रू. ६ अर्ब ३८ करोड ४७ लाख खर्च गरेको हो ।


प्रदेशगत रूपमा चालु आवका लागि बागमती प्रदेशले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको थियो । कूल रू. ६४ अर्ब ५४ करोड ४ लाख बराबरको वार्षिक बजेट ल्याएको बागमती प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १६.२७ प्रतिशत अर्थात् रू. १० अर्ब ५० करोड २९ लाख बराबर मात्रै खर्च भएको छ ।

तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ । पुस मसान्तसम्ममा कोशी प्रदेशले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि कोशी प्रदेशले रू. ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएकोमा रू. ८ अर्ब ७६ करोड ८२ लाख बराबर खर्च गरेको छ ।

मधेस र लुम्बिनीबाहेक सबै प्रदेशले चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट ल्याएका थिए । तर, कुनै पनि प्रदेशले यो शीर्षकको बजेट खर्च गर्न सकेका छैनन् । वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.