काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको समग्रमा ८५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाले बुधबार सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार सुरुङमार्गको समग्र भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको हो ।
आयोजनाको अझै १५.०४ प्रतिशत काम बाँकी छ । आयोजनाको वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ ।
आयोजना अन्तर्गत सुरुङ खन्ने काम सकिए पनि फिनसिङ, लाइट जडान, अक्सिजन जडान, सडक कालोपत्र लगायतको काम बाँकी छ।
आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २५५७ मिटर लामो आपतकालीन सुरुङ गत २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो । आयोजना निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार मुख्य सुरुङ, आपतकालीन सुरुङ, वर्किङ अडिट, क्रस प्यासेज कंक्रिट लाइनिङको काम पनि सम्पन्न भइसकेको छ ।
उनका अनुसार सुरुङमार्ग अन्तर्गत निर्माण गर्नुपर्ने संरचनामध्ये अब फ्लाइओभर मात्रै बनाउन बाँकी छ । हालसम्म फ्लाइओभरको सबस्ट्रक्चर निर्माण, स्टील ग्रिडर राख्ने, स्ल्याब राख्ने काम पनि पूरा भइसेको छ । फ्लाइ ओभरको अन्तिम चरणका केही काम मात्रै बाँकी रहेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको आयोजनाले जनाएको छ ।
आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ ।
सुरुङमार्गमा गाडी गुड्न भने अझै ९/१० महिना लाग्ने आयोजनाले बताएको छ । सुरुङमार्ग संचालनको मोडालिटी टुंगो लाग्न पनि बाँकी रहेको छ ।
यो सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा साढे १६ अर्ब रुपैयाँ जापान सरकारले ऋण सहयोग गरेको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ ।
सवारीसाधन गुड्ने यो नेपालकै पहिलो सुरुङमार्ग हो । सुरुङ सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुगिने छ । आयोजना अन्तर्गत एउटा मुख्य र अर्को आपतकालीन सुरुङ रहेका छन् । मुख्य सुरुङमा केही भवितव्य परिहालेमा आपतकालीन सुरुङबाट उद्धार गर्न सकिन्छ । आपतकालीन र मुख्य सुरुङ जोड्न ७ वटा क्रस प्यासेज निर्माण गरिएको छ ।
४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । तर, पटक पटक म्याद थप्दा पनि अझै सम्पन्न हुन सकेको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।