add

सिद्धबाबा सुरुङमार्ग 'ब्रेक थ्रु',कहिलेदेखि गुड्छन् गाडी ?






ActPro Nepal

|

१२ माघ, २०८१

|
27

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (ब्रेक थ्रु) गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा ११२६ मिटर लामो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रमा उक्त सुरुङ निर्माण गरिएको हो । यो सुरुङ लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ ।

प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरङमार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीहरूलाई राहत दिन सो सुरुङमार्ग एक सफल आयोजना सावित हुने विश्वास व्यक्त गरे । उनले सो सुरुङमार्गबाट लाभ लिइ राजमार्गको सहज आवागमन, सामाजिक एवं आर्थिक सम्बन्ध विस्तार र उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।

यसअघि त्रिभुवन राथपथअन्तर्गतको थानकोट–नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्नसक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताए ।

‘सुरुङमार्ग ब्रेक थ्रू हुनु सिङ्गै देशका लागि खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको समयमा हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ देश । फाइदा हुने कामकुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरू सदैव यसैतर्फ केन्द्रित छन्,’ उनले भने ।

आयोजना अन्तर्गत यसअघि नै ३ वटा बाइपास सुरुङ खनिसकिएको छ । १६१ मिटर लामो बाइपास २ सुरुङ पुस ७ गते ब्रेक थ्रु गरिएको थियो । त्यस्तै, १५१ मिटर लामो बाइपास १ सुरुङ असोज ४ गते र १३० मिटर लामो बाइबास ३ को सुरुङ गत भदौ २६ गते ब्रेक थ्रु गरिएको थियो ।

त्यसैगरी, आयोजना अन्तर्गत दक्षिणतर्फ २ हजार ३०० स्लोप प्रोटेक्सन गर्नु पर्नेमा हालसम्म १ हजार ४९५ वर्गमिटर र ११०० मिटरको उत्तरतर्फ ४९५ वर्गमिटर बराबरको काम सम्पन्न भएको छ ।

हालसम्म आयोजनाको समग्रमा भौतिक प्रगति ४०.१८ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको छ । आयोजनामा हालसम्म ३ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

यो सुरुङमार्गको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।

वि.सं. २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । वि.स. २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरुङ खन्न थालेको हो ।

सुरुङमार्ग ५ वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरू गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

यो सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

गाडी गुड्न कम्तीमा १ वर्ष लाग्ने

सिद्धबाबा सुरुङमार्गको सुरुङ खन्ने काम सकिए पनि संचालनमा आउन भने कम्तीका एकदेखि डेढ वर्ष लाग्नेछ ।

अब सुरुङ भित्र कंक्रिटिङ, लाइनिङ, ढलान, बिजुली बत्ति, जडान, भेन्टिलेसन जडान, अन्य विद्युतीय उपकरण राख्नुपर्ने हुन्छ । ती काम सक्न कम्तीमा १ वर्ष बढी समय लाग्ने आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले बताए ।

त्यस्तै, आयोजना अन्तर्गत नै रकसेट र स्लोप प्रोटेक्सनको काम बाँकी छ । सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा सडकमा मुख्य जोखिम क्षेत्रलाई छाडेर छोटो सुरुङ बनाइएको आम बुझाइ छ । सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा ३ हजार ५०० मिटर लामो रकनेट (जाली) र स्लोप प्रोटेक्सन गरिनेछ ।

यो सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिने छ । सुरुङमार्गका इञ्जिनियर श्रीजेस पौडेलका अनुसार अब दुवै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोप प्रोटेक्सन गरिनेछ । अब बाँकी काम पनि तीव्र गतिमा अघि बढाइने आयोजनाले बताएको छ ।

हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी १५० जनाले नियमित काम गरिरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.