add

कर्जा विस्तारमा विकास बैंकहरू आक्रमक, पुसमा मात्रै दिए झण्डै १ खर्ब ऋण






ActPro Nepal

|

६ माघ, २०८१

|
130

काठमाडौं । हिउँद लागेसँगै बैंकहरूमा कर्जाको माग बढ्न थालेको देखिएको छ । आर्थिक शिथिलताका कारण २ वर्षदेखि सुस्त रहेको कर्जाको माग चालु आवमा भने केही बढ्न थालेको हो ।

निर्माण क्षेत्रका साथै अन्य आर्थिक गतिविधि बढ्न थालेसँगै बैंकहरूमा पनि ऋणको माग बढ्न थालेको हो । चालु आर्थिक वर्षको मंसिरमा ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले पुस महिनामा झण्डै १ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार पुसमा २० वटा वाणिज्य बैंकले ९३ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो चालु वर्षकै धेरै हो ।

चालु आवको पुससम्म बैंकहरूले २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । साउनमा २ अर्ब कर्जा लगानी गरेका बैंकहरूले भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब, मंसिरमा ४२ अर्ब कर्जा दिएका थिए । कात्तिकमा भने कर्जा लगानी २ अर्बले घटेको थियो ।

पुसमा कर्जा लगानी बढ्नुको मुख्य कारण भने ‘एभरग्रिनिङ’ हो । बैंकहरूले आफ्नो ब्यालेन्ससिट मिलाउनका लागि ऋण तिर्नका लागि ऋण नै दिँदा ठूलो रकम लगानी भएको देखिएको हो । यसको पुष्टि बैंकहरूकै तथ्यांकले पनि गर्छ । बैंकहरूले पुसको अन्तिम दुई दिनमा मात्रै ४० अर्ब कर्जा दिएका छन् । पुसमा बैंकहरूले ५० अर्ब रुपैयाँ निक्षेप थपेका छन् ।

साथै, पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा कर्जाको माग बढ्न थालेको हो । नेपाल राष्ट्र बैंकको नीतिगत लचकता र घट्दो ब्याजदरले पनि कर्जाको माग बढाउन सहयोग पुर्याएको छ ।

अहिले पनि उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढ्न नसके पनि अटो कर्जा, सेयर कर्जा, घरजग्गा, चालु पूँजी र व्यापार कर्जाको माग बढेको बैंकरहरू बताउँछन् ।

चालु आवमा व्यापारिक प्रयोजनका लागि प्रवाह हुने ट्रस्ट रिसिप्ट/आयात कर्जा लगानी वृद्धिदर ४७ प्रतिशत रहेको छ । भन्सार विभागको तथ्यांकले पनि आयात बढेको देखाउँछ । मंसिर महिनामा मात्रै १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जबकि चालु आवको अरु महिनामा औसतमा १ खर्ब ३० अर्ब रुपैयाँको मात्रै आयात भएको थियो ।

त्यस्तै, सेयर कर्जामा राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा खारेज गरेपछि ठूला लगानीकर्ताहरूले धमाधम ऋण लिन थालेको बैंकरहरू बताउँछन् । सस्तो ब्याजदर र राष्ट्र बैंकको लचकतासँगै सेयर कर्जाको माग बढेको बैंकरहरूको भनाइ छ । गत वर्षदेखि नै सेयर कर्जाको माग बढ्दो क्रममा थियो । चालु आवमा मात्रै सेयर कर्जा लगानी १९ प्रतिशत अर्थात् १८ अर्ब रुपैयाँले बढेको थियो ।

त्यस्तै, चालु पूँजी कर्जा, घरजग्गा र सवारी कर्जा बढ्दो क्रममा छ । पछिल्लो समय निर्माण गतिविधि बढ्दा उद्योगहरूले लिने चालु पूँजी कर्जा लगानी पनि बढ्न थालेको छ ।

अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । ब्याजदर पनि २ वर्ष यताकै सस्तो भएको छ । तर, उपभोग्य वस्तुको माग र व्यवसायीको मनोवल बढ्न नसक्दा अपेक्षित रुपमा कर्जाको माग बढ्न सकेका छैन ।

आर्थिक संकुचनकै कारण गत वर्ष पनि कर्जा विस्तारको लक्ष्य आधा मात्रै पूरा भएको थियो । राष्ट्र बैंकले गत आव २०८०/८१ मा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा ५.८ प्रतिशत मात्रै लगानी भएको थियो ।

चालु आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको छ । सो अनुसार ६ खर्ब रुपैयाँ बढी कर्जा लगानी गर्नुपर्छ । लक्ष्य अनुसार कर्जा लगानी गर्न बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग बढ्नेमा भने शंका छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.