add

फास्ट ट्रयाकको भौतिक प्रगति साढे ३७ प्रतिशत पुग्यो, ७२ अर्ब खर्च






ActPro Nepal

|

६ माघ, २०८१

|
47

काठमाडौं । काठमाडौं/तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति साढे ३७ प्रतिशत पुगेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले निरीक्षण गर्ने क्रममा निर्माणको जिम्मेवारी पाएको नेपालीले सेनाले आयोजनाको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत पुगेको जानकारी गराएको हो ।

त्यस्तै, आयोजनाको वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको छ । आयोजना निर्माणको क्रममा हालसम्म ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको सेनाले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले मकवानपुरको बकैया गाउँपालिकाकामा निर्माणाधीन लेनडाँडा, धेद्रे र महादेवटार सुरुङमार्गको स्थलगत अवलोकन गरेका थिए । राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन समेत दिएका थिए ।

कुल ७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाक २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनालाई विभिन्न १३ वटा प्योकजमा छुट्याएर निर्माण काम भइरहेको छ । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ ।

द्रुतमार्ग पहाडी भू-भागमा २५ मिटर र तराई भू-भागमा २७ मिटर फराकिलो हुनेछ । आयोजना अन्तर्गत ललितपुरमा ९, काठमाडौँमा ४.६, मकवानपुर ४९.७७ र बारामा ७.६ किमी सडक रहनेछ ।

द्रुतमार्गमा १०.९७९ किमी लम्बाइका ७ वटा सुरुङ रहने छ । हालसम्म लेनडाँडाको १६१२ मिटर, धेद्रेको १७२८ मिटरकाे सुरुङ ब्रेक थ्रु भइसकेको छ । त्यस्तै, ३३५५ मिटर लामो महादेवटार सुरुङको ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ । त्यस्तै, १ हजार मिटर लामो देवीचौर, ३९० मिटर लामो सिसौटार र २ हजार २५० मिटर लामो चन्द्रामभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको बताइएको छ । ५८३ मिटरको मौरीभिर सुरुङको खरिद सम्झौताका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भएको सेनाले जनाएको छ ।

सो सडकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । तीमध्ये ८५ स्थानमा निर्माण हुने पुलको खरिद सम्झौता सम्पनन भएको छ । ८१ मिटरसम्म अग्ला विभिन्न प्रकृतिका पुलहरूको फाउण्डेसन तथा सबस्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको जनाइएको छ ।

आयोजनाका लागि कुल १७ हजार ६५१ रोपनी जग्गा अधिग्रहण गनुपर्नेछ । जसमा व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएकोमा ४ हजार ८१८ रोपनी जग्गा अधिग्रहण सम्पन्न भइसकेको सेनाले जनाएको छ ।

बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इनटरचेञ्ज र ट्राल प्लाजा निर्माण गरिनेछ । सुरूवातमा १ खर्ब ७५ अर्ब रुपैयाँ लगानीमा सम्पन्न गर्ने भनिए पनि हाल लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको जनाइएको छ । चीनका ६ वटा फरक-फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए ।

द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.