काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रूपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पुर्याएको योगदान सराहनीय भएको बताएका छन्।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताए।
‘स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ भएकाले नै हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ। त्यहीभएर लोकतन्त्रको सुदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु।’ उनले भने।
उनले सूचनाप्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउँदै योसँगै सूचना प्राप्ति र सम्प्रेषणमा सजिलो भएसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी रहेको बताए।
‘सूचनाप्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न जति सहज बनेको छ सँगै यस क्षेत्रमा नयाँ नयाँ चुनौती पनि थपिँदै गएको छ। नागरिक पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग बढ्दो छ। यसले सूचना सम्प्रेषण र प्राप्तिमा सजिलोसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी देखिएको छ।’ उनले भने।
राष्ट्रपति पौडेलले उपलब्ध नवीनतम सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र सत्यको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीहरूलाई चिर्दै सत्य तथ्य सूचना सम्प्रेषणमा कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे।
राष्ट्रपति पौडेलले श्रमजीवी aपत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि नवनिर्वाचित नेपाल पत्रकार महासंघको कार्यसमितिले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।