add

बैंकहरुले दिए आधा खर्ब ऋण, एभरेष्टको लगानी अर्बमाथि






ActPro Nepal

|

८ पुष, २०८१

|
230

काठमाडौं । हिउँद लागेसँगै बैंकहरूमा कर्जाको माग बढ्न थालेको देखिएको छ । आर्थिक शिथिलताका कारण २ वर्षदेखि सुस्त रहेको कर्जाको माग चालु आवमा भने केही बढ्न थालेको हो ।

निर्माण क्षेत्रका साथै अन्य आर्थिक गतिविधि बढ्न थालेसँगै बैंकहरूमा पनि ऋणको माग बढ्न थालेको हो । चालु आर्थिक वर्षको मंसिरमा मात्रै वाणिज्य बैंकहरूले झण्डै आधार खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार मंसिरमा २० वटा वाणिज्य बैंकले ४२ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि कात्तिकमा बैंकहरूको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको थियो ।

चालु आवको ५ महिनामा बैंकहरूले १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । साउनमा २ अर्ब कर्जा लगानी गरेका बैंक्हरूले भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब कर्जा लगानी गरेका थिए ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा कर्जाको माग बढ्न थालेको हो । नेपाल राष्ट्र बैंकको नीतिगत लचकता र घट्दो ब्याजदरले पनि कर्जाको माग बढाउन सहयोग पुर्याएको छ ।

अहिले पनि उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढ्न नसके पनि अटो कर्जा, सेयर कर्जा, घरजग्गा र व्यापार कर्जाको माग बढेको बैंकरहरू बताउँछन् ।

चालु आवमा व्यापारिक प्रयोजनका लागि प्रवाह हुने ट्रस्ट रिसिप्ट/आयात कर्जा लगानी वृद्धिदर २० प्रतिशतभन्दा धेरै छ । ५ महिनामा झण्डै सवा खर्ब यस्तो कर्जा प्रवाह भएको छ । भन्सार विभागको तथ्यांकले पनि आयात बढेको देखाउँछ । मंसिर महिनामा मात्रै १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जबकि चालु आवको अरु महिनामा औसतमा १ खर्ब ३० अर्ब रुपैयाँको मात्रै आयात भएको थियो ।

त्यस्तै, सेयर कर्जामा राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा खारेज गरेपछि ठूला लगानीकर्ताहरूले धमाधम ऋण लिन थालेको बैंकरहरू बताउँछन् । सस्तो ब्याजदर र राष्ट्र बैंकको लचकतासँगै सेयर कर्जाको माग बढेको बैंकरहरूको भनाइ छ । गत वर्षदेखि नै सेयर कर्जाको माग बढ्दो क्रममा थियो । चालु आवमा मात्रै सेयर कर्जा लगानी १९ प्रतिशत अर्थात् साढे १७ अर्ब रुपैयाँले बढेको थियो ।

त्यस्तै, घरजग्गा र सवारी कर्जा बढ्दो क्रममा छ । पछिल्लो समय निर्माण गतिविधि बढ्दा उद्योगहरूले लिने चालु पूँजी कर्जा लगानी पनि बढ्न थालेको छ ।

अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । ब्याजदर पनि २ वर्ष यताकै सस्तो भएको छ । तर, उपभोग्य वस्तुको माग र व्यवसायीको मनोवल बढ्न नसक्दा अपेक्षित रुपमा कर्जाको माग बढ्न सकेका छैन ।

आर्थिक संकुचनकै कारण गत वर्ष पनि कर्जा विस्तारको लक्ष्य आधा मात्रै पूरा भएको थियो । राष्ट्र बैंकले गत आव २०८०/८१ मा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा ५.८ प्रतिशत मात्रै लगानी भएको थियो ।

चालु आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको छ । सो अनुसार ६ खर्ब रुपैयाँ बढी कर्जा लगानी गर्नुपर्छ । लक्ष्य अनुसार कर्जा लगानी गर्न बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग बढ्नेमा भने शंका छ ।

मंसिरमा एभरेष्टले दियो धेरै ऋण

मंसिरमा एभरेष्ट बैंकले सबैभन्दा धेरै ७ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ५३ करोड रुपैयाँ, एनएमबीले ५ अर्ब ७९ करोड, ग्लोबल आइएमईले ५ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यसैगरी, प्राइम कमर्शियलले ४ अर्ब ४१ करोड, नेपालले ३ अर्ब ५६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ५५ करोड, नेपाल एसबीआइले ३ अर्ब ११ करोड, नबिल २ अर्ब ९६ करोड, सिद्धार्थ २ अर्ब ३९ करोड, लक्ष्मी सनराइज १ अर्ब ९२ करोड, सानिमा १ अर्ब ६७ करोड, कृषि विकासले १ अर्ब २५ करोड र हिमालयनले ९० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

मंसिरमा १४ बैंकले व्यवसाय विस्तार गर्दा ६ बैंकको भने उल्टो घटेको छ । यस महिना एनआइसी एशियाको कर्जा लगानी सबैभन्दा धेरै ४ अर्ब २४ करोड रुपैयाँले घटेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डको २ अर्ब ९७ करोड, सिटिजन्सको ९२ करोड,

माछापुच्छ्रे ६५ करोड, कुमारी ५१ कोड र प्रभुको १९ करोड रुपैयाँ कर्जा लगानी घटेको छ ।

निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक आक्रमक

मंसिरमा १२ बैंकको निक्षेप बढ्दा ८ वटाको घटेको छ । यो महिना निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक आक्रमक बनेको छ । मंसिरमा राष्ट्रिय वाणिज्यले मात्रै २१ अर्ब ४८ करोड रुपैयाँ निक्षेप थपेको छ । यो मंसिरमा संकलन भएको कुल निक्षेपको ६४ प्रतिशत हो।

त्यसैगरी, मंसिरमा नेपाल बैंकले ११ अर्ब ३१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ९ अर्ब ३३ करोड, नबिलले ७ अर्ब ६५ करोड, प्राइम कमर्शियलले ५ अर्ब ९० करोड र लक्ष्मी सनराइजले ५ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सानिमाले ३ अर्ब ४० करोड, ग्लोबल आइएमईले २ अर्ब ९ करोड, एभरेष्टले डेढ अर्ब, सिटिजन्सले १ अर्ब ४१ करोड, प्रभुले १ अर्ब २१ करोड र सिद्धार्थले १६ करोड निक्षेप थपेको छ ।

मंसिरमा ८ बैंकबाट भने भएकै निक्षेप बाहिरिएको छ । जसमा एनआइसी एशियाबाट सबैभन्दा धेरै ११ अर्ब ४३ करोड निक्षेप बाहिरिएको छ । त्यस्तै, हिमालयनबाट ९ अर्ब ४७ करोड, स्ट्याण्डर्ड चार्टर्डबाट ४ अर्ब ७४ करोड, कृषिबाट ३ अर्ब ८० करोड, कुमारीबाट ३ अर्ब ५७ करोड, माछापुच्छ्रेबाट २ अर्ब ९२ करोड, एनएमबीबाट १ अर्ब २६ करोड र नेपाल एसबीआइबाट ४६ करोड निक्षेप बाहिरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.