काठमाडौं । सरकारले २ हजार ३५६ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माणका लागि आह्वान गरेको वित्तीय लगानी प्रस्ताव पेश गर्ने सयम १५ दिन थपेको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडले ४५६ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना र १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी प्रस्ताव पेश गर्ने समय पुस २३ गतेसम्म थपेको हो ।
यसअघि मंसिर २३ गते १५ दिन भित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको थियो । पीपीपी मोडलमा निर्माण गरिने यी आयोजनामा स्वपूँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी खोजिएको हो । आयोजना बनाउन स्वदेशी लगानीकर्ता, नेपाली नागरिक मात्र प्रवद्र्धक रहेको कम्पनी र संगठित संस्थालाई यही पुस २३ गतेसम्म आशयपत्र पेश गर्न विद्युत उत्पादन कम्पनीले आग्रह गरेको छ ।
आशयपत्र पेश गर्दा नेपाली नागरिक मात्र प्रबर्धक रहेको कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था भए स्थायी लेखा नम्बर, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, अख्तियार प्रत्यायोजन पत्र र स्वः घोषणा पत्रका प्रत्येक पानामा आफैंले दस्तखत गरी कागजातमा सक्कल बमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरी प्रतिलिपि पेश गर्नुपर्नेछ ।
यी आयोजनामा सार्वजनिक निजी साझेदारी ढाँचामा लगानी जुटाउन लागिएको हो । यी २ आयोजना निर्माणको अनुमानित लागत ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
४५६ मेगावाटको अर्धजलाशययुक्त प्रकृतिको किमाथांका अरुण जलविद्युत् आयोजनाको अनुमानित लगानी ९३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । त्यस्तै, १९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको निमार्णका लागि ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यी आयोजनाको २५ प्रतिशत स्वपूँजी र ७५ प्रतिशत ऋण लगानी हुनुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावकले ५१ प्रतिशत सेयर लगानीको प्रस्ताव गर्नुपर्ने छ । किमाथांका जलविद्युतका लागि न्यूनतम् कबोल मूल्य ९० करोड ८१ लाख ९ हजार ३०२ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, मुगु कर्णालीलाई ४८ करोड ७२ लाख ४३ हजार ४२३ रुपैयाँ तोकिएको उत्पादन कम्पनीले जनाएको छ ।
किमाथांका अरुण आयोजना संखुवासभा भोटखोला गाउँपालिकामा निर्माण हुनेछ । छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाई १०३ लाख घनमिटरको जलाशय बनाउने प्रस्ताव गरिएको छ । आयोजनामा ८ मिटर व्यास भएको ५ हजार १९८ मिटर लामो हेडरेस सुरुङ बनाइने भएको छ । आयोजनामा पानीको वहाव १४३ घनमिटर प्रतिसेकेण्ड ३७९ मिटर अग्लो हेडबाट खसालेर वार्षिक २ अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ ।
त्यस्तै, मुगु कर्णाली आयोजनाबाट वार्षिक ५८८३.१० गिगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको बाँध करिब २५० मिटर अग्लो हुनेछ । यो आयोजनाबाट कालिकोट, मुगु, हुम्ला, जुम्ला र बाजुरा गरी ५ जिल्लाका विभिन्न क्षेत्र प्रभावित हुनेछन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।