add

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन बीच लगानी विस्तार गर्ने समझदारी






ActPro Nepal

|

४ पुष, २०८१

|
27

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किम बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।

आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुई देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ ।

नेपालबाट हाल फेल्ट, गलैँचा, धागो लगायतका परम्परागत सामान बढी गैरहेको सन्दर्भमा कोइमासंगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ ।

नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र कोरिया बीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोल स्थित नेपाली दूतावासद्धारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्वपूर्ण रहने बताए ।

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराए । साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको बताए ।

ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पारे । विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिङ भएको जानकारी पनि लगानीकर्तालाई दिए । नेपालको रेटिंग दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा थियो ।

ढकालले पूर्वाधार विकासको महत्त्व पनि औंल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरे ।

ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.