add

व्यवसाय विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआइएमबिले पछ्याउँदै






ActPro Nepal

|

२६ मंसिर, २०८१

|
22

काठमाडौं । पछिल्लो डेढ/दुई वर्ष यता बैंकिङ व्यवसाय सुस्त छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण बैंकहरूले अपेक्षित रूपमा व्यवसाय विस्तार गर्न नसकेका हुन् ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि माग नहुँदा कर्जा विस्तार हुन सकेको छैन । अर्कोतर्फ आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा बैंकहरूको कर्जा असुलीमा समस्या देखिएको छ । जसकारण बैंकहरूको खराब कर्जा बढेर औसतमा ४ प्रतिशत पुगेको छ ।

गत वर्षको कात्तिकदेखि नै ब्याजदर घट्दो क्रममा छ । कर्जा लगानी बढाउन नेपाल राष्ट्र बैंकले पनि नीतिगत लचकता अपनाउँदै आएको छ । अर्थतन्त्र शिथिल नहुँदा र व्यवसायीको मनोवल बढ्न नसक्दा अझै कर्जाको माग बढ्न सकेको छैन ।

पछिल्लो १ वर्ष यता निक्षेप संकलन एकोहोरो बढिरहेको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, घट्दो आयात लगायत कारणले निक्षेप लगातार थपिरहेको हो । गत वर्ष मात्रै बैंकिङ प्रणालीमा ४ खर्ब बढी निक्षेप थपिएको थियो भने चालु आवको ४ महिनामै २ खर्ब बढी निक्षेप थपिएको छ ।

तर, यही अवधिमा बैंकहरूको कर्जा लगानी भने न्यून छ ।गत वर्ष भरिमा २ खर्ब कर्जा लगानी गरेका थिए भने चालु आवको ४ महिनामा सवा १ खर्ब मात्रै कर्जा लगानी गरेका छन् ।

निक्षेप बढिरहँदा बैंकहरूको ब्याज खर्च बढिरहेको छ भने कर्जा विस्तार गर्न नसक्दा आम्दानी पनि घटिरहेको छ । कर्जाको माग नहुँदा बैंकहरूले आफूले संकलन गरेको निक्षेप बैंकमै थुपारेर राख्न बाध्य भएका छन् । अधिक तरलता भएपछि बैंकहरूले महँगोमा उठाएको निक्षेप ३ प्रतिशत ब्याजदरमा राख्नु परिरहेको छ ।

कर्जाको माग बढ्न अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब बढी तरलता थुप्रिएको छ । राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रतर्फ साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले ६ खर्ब बढी लगानी गर्नुपर्छ । तर, चालु आवको ४ महिना २० प्रतिशत मात्रै ऋण लगानी भएको छ । पछिल्लो समय कर्जाको माग थोरै बढ्न थाले पनि यस वर्ष पनि कर्जा विस्तारको लक्ष्य हासिल नहुने देखिन्छ ।

व्यवसाय विस्तारमा ग्लोबल आक्रमक

चालु आवको ४ महिनामा वाणिज्य बैंकहरूले मात्र १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप र १ खर्ब १० अर्ब कर्जा लगानी गरेका छन् । यस अवधिमा १७ बैंकको निक्षेप र १४ बैंकले कर्जा लगानी बढाएका छन् भने ६ बैंकको कर्जा लगानी र ३ बैंकको निक्षेप घटेको छ ।

आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा ग्लोबल आइएमई बैंक सबैभन्दा आक्रमक देखिएको छ । चालु आवको ४ महिनामा ग्लोबलले मात्रै ३० अर्ब कर्जा लगानी गरेको छ । यो वाणिज्य बैंकहरूले ४ महिनामा गरेको कुल कर्जा लगानीको १८.१३ प्रतिशत हो ।

त्यस्तै, ग्लोबल आइएमई निक्षेप संकलनमा पनि दोस्रो स्थानमा रहेको छ । ४ महिनामा गलोबलले २१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप थपेको छ ।

चालु आवमा व्यवसाय विस्तारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि आक्रमक देखिएको छ । ४ महिनामा इन्भेष्टमेन्टले सबैभन्दा धेरै ३२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस बैंकको निक्षेप वृद्धिदर ७.९७ प्रतिशत छ । कर्जा लगानीमा पनि इन्भेष्टमेन्ट मेगा दोस्रो स्थानमा छ । ४ महिनामा यस बैंकले १८ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

व्यवसाय विस्तारमा एनएमबी बैंक तेस्रोमा रहेको छ । ४ महिनामा एनएमबीले १४ अर्ब ६० करोड निक्षेप संकलन गरी १४ अर्ब ९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

यस अवधिमा निक्षेपमा संकलनमा चौथो स्थानमा रहेको नबिल कर्जा लगानीमा भने सातौं स्थानमा पुगेको छ । नबिलले ४ महिनामा १५ अर्ब ९५ करोड निक्षेप संकलन गरी ८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कर्जा विस्तारमा एभरेष्ट र कुमारी पनि अगाडि नै देखिएका छन् । ४ महिनामा कुमारीले १२ अर्ब २४ करोड र एभरेष्टले १० अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यस अवधिमा दुवै बैंकले ११ अर्ब निक्षेप थपेका छन् ।

चालु आवमा कर्जा लगानीमा प्राइम, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल, सिद्धार्थ बैंक पनि अगाडि नै छन् । यी बैंकले ७ अर्ब रुपैयाँ बढी कर्जा विस्तार गरेका छन् ।

४ महिनामा एनआइसी एशिया, प्रभु, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, कृषि विकास र एसबीआई बैंकको भने कर्जा लगानी उल्टो घटेको छ ।

खस्किँदै एनआइसी

चालु आवमा १ दर्जन बढी बैंकले निक्षेप र कर्जा लगानी दुवै बढाउँदा एनआइसी भने खस्किएको छ । यस अवधिमा एनआइसीको निक्षेप र कर्जा लगानी दुवैमा भारी गिरावट आएको छ ।

४ महिनाको अवधिमा एनआइसीबाट ४३ अर्ब ५६ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । त्यस्तै, कर्जा लगानी २३ अर्ब ७४ करोड रुपैयाँ घटेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले निक्षेप घट्दा खासै असर नपरे पनि कर्जा लगानी घट्दा भने बैंकलाई ठूलो नोक्सानी हुन्छ । अहिले नयाँ कर्जाको माग नहुँदा बैंकहरू बीच एकअर्काको ऋण खोस्न तीव्र प्रतिस्पर्धा छ । त्यसको मारमा एनआइसी परेको हो ।

वाणिज्य बैंकहरूमा एनआइसीको बेसरेट उच्च छ । बेसरेट महँगो भएकाले बैंकको कर्जाको ब्याजदर पनि अरु बैंकको भन्दा धेरै छ । यस्तोमा अहिले अरु बैंकले ग्राहकलाई सस्तो ब्याजदरमा ऋण दिएर एनआइसीको कर्जा आफ्नो सारेको देखिन्छ ।

अर्थतन्त्रमा शिथलता कायमै रहेकाले ऋणीले उल्लेख्य मात्रमा ऋण तिर्न सक्ने अवस्था छैन । त्यसैले महँगो ब्याजको ऋण सस्तो ब्याजदर भएका बैंकमा सारिरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.