दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे ५ घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो ।
गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने, ‘रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन् ।’
मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।