काठमाडौं । लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन्। तर, चितवनकी अचर्ना कार्कीको पदयात्रा रोकिएन। मर्दी हिमालको फेदैमा पुग्ने उनको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै गलेका गोडाले अवरोध गर्नै सकेनन्।
तिहार पर्व मर्दी हिमालक्षेत्रमै मनाउने उद्देश्यले उनी परिवार र साथीभाई लिएर पदयात्रामा निस्किएकी थिइन्। उनी भन्छिन्, “शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा थप ऊर्जा थप्ने रहेछ।”
कार्कीका लागि यो पहिलो पटक पदयात्राको अनुभव थियो। पछिल्लो समय फुर्सदमा पदयात्रामा निस्कने सँस्कारको विकास हुन थालेको छ। युवा पुस्तादेखि पाका पुस्तासमेत पदयात्रामा रमाउन थालेका छन्। कार्कीले तिहारमा टिका लगाउन नमिल्ने भएपछि घुम्न जाने गन्तव्यको रुपमा मर्दी ‘ट्रेक’ रोजेकी थिइन्। उनलाई पदयात्रामा जाँदा प्राकृतिक दृश्यसँगै केही फरक अनुभूति गर्ने अवसर पाएको आभाष भयो।
“हिँड्दा हिँड्दै जङ्गलको शान्त वातावरण महसुस गर्न पाएँ”, उनले भनिन्, “यस्तो प्राकृतिक शान्ति कोलाहलले भरिएको सहरमा कहाँ पाउनु रु” कार्की सकेमा वर्षमा एक पटक पदयात्रा आवश्यक रहेको बताउँछिन्। यसले शारीरिक र मानसिक दुवै तन्दुरुस्ती राख्नलाई फाइदा पुग्ने उनको ठम्याइ छ।
कार्कीकै साथी सपना थापाको पहिलो पदयात्रा मर्दी हिमाल आधारशिविर पुगेर पूरा भयो। वर्षभरि जागिर, परिवार र दैनिक जीवनको सङ्घर्षमा आफ्नो लागि समय नमिल्ने हुँदा फुर्सदको सदुपयोग गर्न पदयात्रामा निस्किएको उनले बताइन्। सुरुमा पहाडको उकालो चढेर के हुन्छर? भन्ने नकारात्मक भाव पैदा हुन्थ्यो। अरुले पदयात्रा गरेर इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको देखेपछि विस्तारै उनको पदयात्रा मोह बढ्दै गयो। जब थापाले मर्दी ट्रेक पूरा गरिन्, त्यसपछि पदयात्रा र भ्रमणप्रतिको विचार नै परिवर्तन भएको छ। पहिलो पदयात्राको अनुभव सुनाउँदै भनिन्, “पहाड चढ्नु मात्रै होइन, यात्राका क्रममा देखिने जनजीवनले थुप्रै जीवन उपयोगी कुरा सिक्न र देख्न पाइँदो रहेछ।”
विराटनगरकी प्रज्ञा दाहाललाई नेपालको भौगोलिकस्थिति प्रत्यक्ष हेर्न रुचि लाग्छ। उनी सम्भव भएसम्म मुलुकका पर्यटकीय गन्तव्य घुम्ने योजनामा छिन्। बैंकका जागिरे दाहालले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हुँदा स्वदेश घुमफिरलाई पहिलो रोजाइमा राखेको उनले बताइन्। “आफ्नो देशको भूगोल, कला संस्कृति र सभ्यता बुझ्न पनि पदयात्रा जरुरी छ”, उनले भनिन्, “हामीले घुम्दा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्छ। अर्थतन्त्रमा सुधार आउँछ।”
बानेश्वरका विमल भट्टराई प्रत्येक वर्ष छोराछोरीसहित पदयात्रामा जान्छन्। उनले आफ्ना दुई छोरीलाई आन्तरिक पर्यटनको महत्त्व बुझाउन र संस्कृति सिकाउन यात्रामा लैजाने गरेको बताए। बुवाको साथमा पदयात्रामा निस्किएकी सुविमा भट्टराईले यात्राका क्रममा देखेका र भोगका अनुभूति डायरीमा टिपेर राखिन्। कक्षा १२ मा अध्ययनरत उनी पछि त्यही डायरीमा आधारित किताब निकाल्ने सोचमा छिन्। किताबमा हिमाल र पहाडको बारेमा जति पढिएको हुन्छ, त्यसको वास्तविक अनुभूति गर्न यात्रा नै जरुरी हुने उनको अनुभव छ। मर्दी ट्रेकमा जुकाले हातमा टोकेको क्षण उनका लागि अद्भूत बन्यो। यसअघि सुविमाले जुका भन्ने सुनेकी थिइन्, तर कसरी टोक्छ र टोकेपछि के हुन्छ रु थाहा थिएन। भट्टराईका अनुसार प्रकृतिको प्रत्यक्ष महसुस गर्न कोठाबाहिर हिँड्नैपर्छ। “कोठैमा बसेर मोबाइल हेरेर कहाँ यस्तो जुकाको जीवन नियाल्न पाइन्थ्यो ररु”, उनी भन्छिन्, “मैले ट्रेकिङलाई सिक्ने र अनुभव गर्ने खुला विद्यालय मान्छु।”
तिहारको अवसर पारेर मर्दी हिमाल पदयात्रा गरेका दाङका अघर दाहालले शरीर चुस्त राख्न र मस्तिष्कलाई ताजा बनाउन पदयात्रा उपयुक्त हुने बताउँछन्। घरको वरिपरि हिँड्डुल गर्दा मोटरसाइकलको सहायता लिने उनले तीन दिनमा चार हजार पाँच सय उचाइमा रहेको मर्दी हिमाल आधारशिविर पुग्ने आँट गरे। सबैले पहाड चढ्न सक्दैनस् भन्दै होच्याउँथे। त्यसैले उनमा थोरै इख थियो। पहाड चढेरै छोड्छु भन्ने अठोट थियो। तराईमा हुर्किएका उनको परिवारका कुनै सदस्य हालसम्म हिमाली भेगमा पदयात्राका लागि गएाका थिएनन्। दाहाल भन्छन्,“मैले आँट गरेँ र सफल भएँ। पदयात्राले लक्ष्य प्राप्ति गर्न धैर्य गर्न सिकाउने रहेछ।”
मर्दीका होटल व्यवसायी माया गुरुङ पछिल्लो समय आन्तरिक पर्यटककै भरमा व्यवसाय धानिएको बताउँछिन्। “नेपालीहरु परिवारसहित घुम्ने संस्कृतिको सुरुवात भएको छ”, उनले भनिन्, “नेपालीलाई सत्कार गर्न सजिलो पनि हुन्छ।”
१२ वर्षदेखि मर्दी हिमाल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका मर्दी हिमाल हाइ क्याम्पका अध्यक्ष राजकुमार तामाङका अनुसार आन्तरिक पर्यटक वृद्धि हुनुले पर्यटनमा दीर्घकालीन स्थायित्वको सम्भावना हुन्छ। मर्दी हिमाल पदयात्राका लागि ७४ वटा होटल सञ्चालित छन्। विदेशी र नेपाली पर्यटकहरु नजिकै माछापुच्छ्रे हिमाल, मर्दी, अन्नपूर्ण हिमश्रृङ्खलालगायत दृश्य एकैसाथ हेर्न मर्दी पदयात्रामा आउने गर्छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक भित्रिएका छन्।
अघिल्लो वर्षको तुलनामा यसवर्ष सोही अवधिमा ६.४ प्रतिशतले वृद्धि भएको हो। तुलनात्मक रुपमा आन्तरिक पर्यटकको आर्कषण पनि लोभ लाग्दो रहेको बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्ल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्नु स्वभाविक रहेको बताए।
घुम्ने सँस्कृतिको विकास भएको र मान्छेले आयआर्जन गर्न थालेकाले खर्च गर्न थालेको उनको भनाई छ। आन्तरिक पर्यटक वृद्धि हुँदा प्रादेशिक अर्थतन्त्रमा टेवा पुग्ने तर राष्ट्रिय अर्थतन्त्र उकास्न चाहीँ विदेशी पर्यटक नै मूलस्रोत रहेको अध्यक्ष पाण्डेको बुझाइ छ। -मधु शाही/रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।