काठमाडौं । आर्थिक शिथिलता कायमै रहँदा बीमा व्यवसायमा धक्का लागेको छ । बीमितहरूले नियमित प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर (बीमालेख समर्पण) गर्न थालेका हुन् ।
पोलिसी सरेन्डर घटाउन नियामक निकाय र बीमा कम्पनीहरूले प्रयास गरे पनि रोकिन सकेको छैनन् । नयाँ व्यवसाय विस्तार सुस्त भइरहँदा पुराना पोलिसी पनि धमाधम सरेन्डर हुन थालेपछि जीवन बीमा कम्पनीहरूको व्यवसायमै धक्का पर्न थालेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को ३ महिनामा पौने ४ अर्ब रुपैयाँ बढीको बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको असोज मसान्तसम्म १४ जीवन बीमा कम्पनीका २८ हजार ५७ वटा पोलिसी सरेन्डर भएका छन् ।
रकममा आधारमा असोजसम्म ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।
अर्थतन्त्रमा आएको मन्दीको असर बीमा व्यवसायमा देखिएको बीमा व्यवसायीहरू बताउँछन् । आम्दानी नहुँदा बीमितले समयमै बीमा शुल्क तिर्न नसक्दा सरेन्डरको समस्या देखिएको उनीहरूको भनाइ छ ।
आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् । विगतमा नियमित रुपमा प्रिमियम तिर्दै आएका बीमितहरूले अहिले प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् । ऋण खोजेर प्रिमियम तिर्नुभन्दा संकटको बेलामा पोलिसी सरेन्डर गरेर भएको पैसा निकाल्नु नै उपयुक्त हुने बीमितको बुझाइ देखिन्छ । जसले पोलिसी सरेन्डर झनै बढाएको बीमकहरू बताउँछन् ।
नेपाल बीमा प्राधिकरणका अधिकारीहरू भने अभिकर्ताले कमिसनको लागि जथाभावी बीमितलाई पोलिसी थमाउँदा पनि सरेन्डरको क्रम बढेको बताउँछन् । त्यस्तै, एउटा कम्पनीमा काम गरिरहेको एजेन्ट कमिसनको लोभमा अर्को कम्पनीमा जानले पनि पोलिसी सरेन्डर बढेको उनीहरूको भनाइ छ ।
बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र बीमा कम्पनीहरू प्रति घट्दो विश्वासका कारण पनि पोलिसी सरेन्डर बढ्दै गएको बीमा क्षेत्रका जानकारहरू बताउँछन् ।
कुनको कति पोलिसी सरेन्डर ?
चालु वर्षको ३ महिनामा सबैभन्दा ठूलो धक्का लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाललाई लागेको छ । यस अवधिमा एलआइसीका ७ हजार ७३१ बीमितले पोलिसी सेन्डर गरेका छन् । उनीहरूले १ अर्ब २३ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको ३२ प्रतिशत हो ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको पनि १ अर्ब ८ करोड रुपैयाँ बढीको ६ हजार ५४६ पोलिसी सरेन्डर भएको छ । यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको २७ करोड ४३ लाख रुपैयाँ बराबरको २ हजार ७४२ वटा, नेशनल लाइफको साढे २६ करोडको १ हजार १५४ वटा, मेट लाइफको साढे १० करोडको ९९५ वटा, एशियन लाइफको २४ करोड ८५ लाखको २ हजार २७२ वटा पोलिसी सरेन्डर भएको छ ।
त्यसैगरी, आइएमई लाइफको ५ करोडको ४७० वटा, सन नेपाल लाइफको १ करोड ७७ लाखको १९३ वटा, रिलायबल नेपाल लाइफको ३ करोडको ४८७ वटा, सिटिजन लाइफको साढे ४ करोडको ५८८ वटा, सूर्यज्योति लाइफको १९ करोडको १ हजार ५७४ वटा, सानिमा रिलायन्स लाइफको पानै ८ करोडको ५३७ वटा, हिमालयन लाइफको १८ करोडको २ हजार १४ वटा र प्रभु लाइफको साढे ४ करोडको ३५४ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांक छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।