add

बाढीपहिरोको क्षतिबाट साढे ९ अर्बको बीमा दाबी,३० करोड भुक्तानी






ActPro Nepal

|

१० कार्तिक, २०८१

|
89

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिराले पुर्याएको क्षतिबाट साढे ९ अर्ब बढीको दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक ६ गतेसम्म कुल ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ बराबरको भुक्तानी माग गर्दै दाबी परेको हो ।

प्राधिकरणका अनुसार कुल ३ हजार ३०६ वटा दाबी परेको हो । १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा गरी १८ कम्पनीमा उक्त दाबी परेको प्राधिकरणले जनाएको छ ।

दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । बाढीपहिरोबाट सबैभन्दा धेरै घर लगायत सम्पत्तिमा क्षति पुर्याएको छ । प्राधिकरण अनुसार सम्पत्ति बीमा गरेकाहरूले ७ अर्ब ३१ करोड बीमा दाबी परेको छ । १६३५ वटा दाबीमा उक्त रकम माग गरिएको हो ।

त्यसैगरी, इन्जिनियरिङ तथा ठेकेदारहरूले १ अर्ब ७४ करोड, मोटर बीमा (निजी) २६ करोड ७७ लाख, मोटर बीमा (सार्वजनिक) १६ करोड १२ लाख, सामुद्रिक बीमा २ करोड २८ लाख, कृषितर्फ बाली १ करोड १९ लाख र पशुपन्क्षी १ करोड २३ लाख बराबरको दाबी परेको छ ।

३० करोड मात्रै भुक्तानी

साढे ९ अर्ब बढीको माग दाबी परे पनि भुक्तानी भने सुस्त देखिएको छ । प्राधिकरणका अनुसार हालसम्म ११ वटा बीमा कम्पनीले कुल ३० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको मात्रै बीमा दाबी भुक्तानी गरेका छन् । सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनीसहित ७ कम्पनीले अझै भुक्तानी दिन सुरु गरेका छैनन् ।

बीमा प्राधिकरणले छिटो र सरल रुपमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई निर्देशन दिए पनि दाबी संख्याको आधारमा फछ्यौंट रकम निकै कम भएको हो ।

कुन कम्पनीमा कति दाबी ?

प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा आएको छ । सिद्धार्थ प्रिमियरमा २ अर्ब ६ करोड ५९ लाख ८४ हजार ५६९ रुपैयाँ बराबरको दाबी परेको छ । हालसम्म कम्पनीले ४ करोड १७ लाख ८१ हजार ८५१ रुपैयाँ भुक्तानी दिएको छ ।

त्यस्तै, दी ओरियन्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६९ लाख १६ हजार रुपैयाँ दाबी परेको छ । कम्पनीमा १७२ संख्यामा माग दाबी परेको हो । कम्पनीले ३ लाख ९४ हजार रुपैयाँ मात्रै भुक्तानी दिएको छ ।

शिखर इन्स्योरेन्समा ४२७ पोलिसीबाट ९८ करोड ८१ लाख रुपैयाँको दाबी परेकोमा २१ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ । त्यसैगरी, नेको इन्स्योरेन्समा ९८ करोड २२ लाख २५ हजार ९३४ रुपैयाँको दाबी परेकोमा २ लाख १९ हजार २६९ रुपैयाँ भुक्तानी भएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा ९७ करोड ३४ लाखको दाबी पर्दा १ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको छ भने सगरमाथा लुम्बिनीले ६६ करोड ८१ लाख रुपैयाँ दाबी पर्दा १ करोड १९ लाख ५४ हजार ५७५ रुपैयाँ भुक्तानी दिएको छ ।

नेशनल इन्स्योरेन्समा ५६ करोड ४८ लाख माग दाबी परेकामा २२ लाख ५३ हजार ८९९ रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

एनएलजी इन्स्योरेन्समा ४६ करोड ५० लाख, नेपाल इन्स्योरेन्समा ३६ करोड २३ लाख, राष्ट्रिय बीमा कम्पनीमा २० करोड ६७ लाख रुपैयाँ बराबर माग दाबी परेको छ । यी तीनै कम्पनीले हालसम्म १ रुपैयाँ पनि दाबी भुक्तानी गरेका छैनन् ।

आइजीआई प्रुडेन्सियलमा ३६ करोड ७९ लाख रुपैयाँको दाबी परेकोमा ३२ लाख ४ हजार २५८ रुपैयाँ भुक्तानी भएको छ भने सानिमा जीआइसीमा २५ करोड ९३ लाख ९६ हजार ६७७ रुपैयाँको माग दाबी परेकोमा १ करोड ३२ लाख भुक्तानी भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.