काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जा झनै बढेको छ । आर्थिक शिथिलता कायमै रहेकाले कर्जा असुलीमा समस्या हुँदा बैंकहरूको खराब कर्जा बढेको हो ।
नेपाल राष्ट्र बैंकको सहुलियत र खुकुलो नीतिका कारण बैंकहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २१.६३ प्रतिशतले बढे पनि खराब कर्जा भने घट्न नसकेको देखिन्छ । पहिलो त्रैमासमा बैंकहरूले गत वर्ष असोजकोभन्दा २ अर्ब ८८ करोड धेरै अर्थात् कुल १६ अर्ब २३ करोड खुद नाफा कमाएका छन् ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूको औसत खराब कर्जा बढेर ३.८६ प्रतिशत पुगेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ०.४६ प्रतिशत बिन्दुले धेरै हो । गत असोजमा बैंकहरूको खराब कर्जा औसतमा ३.४० प्रतिशत थियो । त्यस्तै, गत असारको तुलनामा बैंकहरूको खराब कर्जा औसतमा ०.४८ प्रतिशत बिन्दुले बढेको छ ।
समीक्षा अवधिमा १५ वटा बैंकको खराब कर्जा बढेको छ भने ५ वटाको मात्रै घटेको छ । जसमा एनआइसी एसिया बैंकको सबैभन्दा धेरै तेब्बरले बढेको छ । कृषि विकास, नेपाल एसबीआइ, सानिमा, माछापुच्छ्रे र एभरेष्ट बैंकको मात्र खराब कर्जा बढेको छ ।
आर्थिक मन्दीका कारण विगत २ वर्षदेखि बैंकहरूको खराब कर्जा त्रैमासैपिच्छे बढ्दै आएकोमा गत असारमा भने घटेको थियो । तर, अहिले फेरि बढेको हो । २०८० चैतमा ३.६३ प्रतिशत रहेको बैंकहरूको खराब कर्जा असारमा घटेर ३.३८ प्रतिशतमा झरेको थियो । तर, असोज आइपुग्दा फेरि ह्वात्तै बढेको हो ।
अर्थतन्त्र शिथिल हुँदा व्यापार, व्यवसाय चौपट भएको छ । आम मानिसको आम्दानी घटेको छ भने ऋण तिर्ने क्षमतामा समेत ह्रास आएको छ । जसकारण ऋणीले ऋण तिर्न नसक्दा बैंकहरूको खराब कर्जा बढेको हो ।
बैंकहरूले धितो लिलाम गरेको सम्पत्ति समेत बिक्न छाडेको छ । जसकारण बैंकहरूको खराब कर्जासँगै गैरबैंकिङ सम्पत्ति समेत बढिरहेको छ ।
अहिले बैंकहरूले दोहोरो दबाबमा परेका छन् । एकातिर कर्जाको माग नबढ्दा नयाँ व्यवसाय विस्तार गर्न सकेका छैनन् भने अर्कोतर्फ विगतमा गरिएको ऋण असुल्न सकेका छैनन् ।
बैंकिङ व्यवसायमा राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत बैंकहरूले असल धितोमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) १.२ प्रतिशतबाट घटाएर १.१ प्रतिशतमा झारेको थियो । त्यस्तै, राष्ट्र बैंकले निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था गरेको छ । यस व्यवस्थाले बैंकहरूको नाफा बढाए पनि खराब कर्जा घटाउन नसकेको देखिन्छ ।
असोज मसान्तसम्म २० वाणिज्य बैंकहरूमध्ये १ दर्जन बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुगेको छ । जसमा ३ बैंकको सीमा माथि अर्थात् ५ प्रतिशत नाघेको छ ।
खराब कर्जा धेरै हुनेमा अधिकांश मर्जरमा गएका बैंकहरू रहेका छन् । मर्जरअघि कमजोर बैंकले लगानी गरेको कर्जा अहिले असुली हुन नसक्दा खराब कर्जा ह्वात्तै बढेको हो । यद्यपि, मर्जरमा नगएका केही बैंकको पनि खराब कर्जा उच्च छ ।
समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र सिटिजन्स बैंकको खराब कर्जाले सीमा नाघेको छ । जसमा इन्भेष्टमेन्ट मेगाको सबैभ्न्दा धेरै ५.८४ प्रतिशत छ । त्यस्तै, लक्ष्मी सनराइज ५.४४ प्रतिशत र सिटिजन्सको ५.४१ प्रतिशत रहेको छ ।
त्यसैगरी, ५ बैंकको खराब कर्जा ५ प्रतिशत नजिक पुगेको छ । जसमा हिमालयन ४.९८ प्रतिशत, कुमारी ४.९६ प्रतिशत, प्रभु ४.९४ प्रतिशत, प्राइम कमर्शियल ४.८६ प्रतिशत र कृषि विकास ४.७८ प्रतिशत रहेको छ ।
त्यस्तै, ४ बैंकको खराब कर्जा ४ देखि साढे ४ प्रतिशतको बीचमा छ । ग्लोबल आइएमई ४.६७ प्रतिशत, एनआइसी एशिया र नबिल समान ४.२४ प्रतिशत र राष्ट्रिय वाणिज्यको ४.२३ प्रतिशत रहेको छ ।
नेपाल, सिद्धार्थ र एनएमबी बैंकको खराब कर्जा साढे ३ देखि ४ प्रतिशतको बीचमा छ । स्ट्याण्डर्ड चार्टर्ड, एसबीआइ, सानिमा र माछापुच्छ्रेको निष्क्रिय कर्जा १ देखि २ प्रतिशतको बीचमा छ ।
२० वटा वाणिज्य बैंक मध्ये एभरेष्ट बैंकको मात्रै खराब कर्जा १ प्रतिशत कम छ । एभरेष्टको खराब कर्जा सबैभन्दा कम ०.७७ प्रतिशत मात्र छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।