ललितपुर । ललितपुर महानगरले विपद व्यवस्थापनका लागि बहुपक्षीय उपाय अवलम्बन गर्ने नीति लिने जानकारी गराइएको छ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित नगरस्तरीय विपद व्यवस्थापन समिति बैठकमा विपद व्यवस्थापनका बिषयमा सहभागीहरुको धारणा सुनिसकेपछि विपद व्यवस्थापनका लागि एउटै सुत्र सधैं पर्याप्त नहुने बताउँदै बहुपक्षीय उपाय र सुत्रहरु प्रयोग गर्नुपर्ने धारणा राखेका हुन।
बाढिबाट उद्धार गर्न डुङ्गा अति आवश्यक हो, यो हामी कार्यपालिका बैठकबाट छिट्टै निर्णय गरेर डुङ्गा किन्छौ । फेरी यसका लागि सीप पनि त चाहियो, त्यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट नगर प्रहरीलाई तालिम दिने व्यवस्था गर्छौं। बाढीजन्य विपदमा उद्धारका लागि डुङ्गा महत्वपूर्ण र अत्यावश्यक साधन हो, जुन यस पटकको विपदमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसंग पनि आवश्यकता अनुसार रहेनछ। उनले भने।
महानगरले यो बाढीजन्य विपदमा गरेको काम संकट व्यवस्थापनलाई गरेको सम्बोधन मात्रै भएको उनले बताए । उनले भने, जनजीवनलाई सामान्य बनाउन सम्बन्धित वडा अध्यक्षलाई बजेट खर्चको अधिकार दिने निर्णय अघिल्लो कार्यपालिकाबाट भइसकेको छ, वडा विपद व्यवथापन कोष, वडा स्तरीय विकास बजेट कट्टी गरेर, भैपरीको बजेटबाट जनजीवन सहज बनाउन तर्फ लाग्नुपर्छ । नगरप्रमुख महर्जनले भने ।
आपतकालीन समयमा पाँच वटा पम्प किनेर घरभित्र पसेको पानी निकालेको बताउँदै उनले हिलो माटो निकाल्न सशस्त्र प्रहरीले गरेको सहयोगको प्रशंसा गरे ।
बाढी र पहिरोका कारण खानेपानीको पाइप फुटेको, भाँचिएको , पुरिएकोले महानगरवासीले खानेपानीको समस्या झेलिरहेको उनले बताए । खानेपानीको समस्या समाधान गर्न युद्धस्तरमा काम गर्नुपर्छ र केयुकेएको ट्याङकर र महानगरको ट्याङकर, अन्य व्यवसायीको ट्याङकरबाट ठाउँठाउँबाट पानी वितरण गर्नुपर्छ । उनले भने। नदीले बगाएर ल्याएको फोहोर व्यवस्थापन अर्को चुनौती भएको बताउँदै यसको व्यवस्थापनका लागि सबैको सक्रिय सहभागिता आवश्यक भएकोमा उनले जोड दिए । नागरिकको सुरक्षा र स्वास्थ्य महत्वपूर्ण भएको बताउँदै उनले पानी सुद्धीकरणका लागि पियूष लगायतका औषधि वितरण गरेको जानकारी गराए।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले प्रभावितलाई राहत स्वरुप नगद हस्तान्तरण गर्ने तयारी गरिरहेको बताए । स्थानीय तह मार्फत नै राहत उपलब्ध गराउँछौ, यस सम्बन्धमा छलफल भइरहेको छ ।ू उनले भने । विपदपछिको संकट सामना गर्न सहकार्य आवश्यक भएको बताउँदै उहाँले स्थानीय तहको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने बताए ।
ललितपुर महानगर वडा नं.१८ का अध्यक्ष दामोदर खड्काले बाढी प्रभावितलाई गाँसबासको व्यवस्था गर्नु अत्यावश्यक भएको बताए । वडामा दुई सय भन्दा बढी बाढी प्रभावित रहेको बताउँदै उनले नख्खु खोलाको किनारामा टहरा बनाएर बस्नेहरुको विचल्ली भएको प्रष्ट पारे। मान्छेलाई खानेकुरा चाहिएको छ, बस्ने ठाउँ चाहिएको छ, यसको व्यवस्थापन कसरी गर्ने छलफल हुनुपर्छ । उनले भने ।
केही समयका लागि प्रभावितहरुलाई अस्थायी बस्ने ठाउँ र खानाको व्यवस्था गर्नुपर्ने धारणा उनको थियो ।
वडा नं।२५ का अध्यक्ष दौलतकुमार खत्रीले बाढी प्रभावितलाई स्थानीयको सहयोगमा खानाको व्यवस्था गरेको जानकारी दिए । बाढीले बगाएर ल्याएको जनावर कुहिदाँ दुर्गन्ध फैलिएको बताउँदै उहाँले दिगो समाधानका लागि सक्रिय हुनुपर्ने धारणा राखे ।
वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्काले बाढीले बगाएर ल्याएको फोहोरको थुप्रो वडा नं. १८ र ४ मा थुप्रिएको बताउँदै त्यसको व्यवस्थापन महत्वपूर्ण भएको प्रष्ट पारे वडा नंं.२ का वडा अध्यक्ष राजेश कुमार मर्हजनले फोहोर व्यवस्थापन र मृतक जनावरको व्यवस्थापन महत्वपूर्ण भएको धारणा राखे ।
वडा नंं.१९ का अध्यक्ष राजेन्द्र महर्जनले हस्तकला व्यवसायीको कारखाना र पसलमा बाढी पसेर करोडौंका क्षति भएको बताउँदै महानगरले ती व्यवसायीलाई हौसला प्रदान गर्नुपर्ने धारणा राखे ।
बैठकमा उप प्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, प्रवक्ता राजु महर्जन, विभिन्न समितिका संयोजक, सूचना अधिकारी देवप्रसाद गुरागाईँलगायतको उपस्थिति रहेको थियो ।
Comment