नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताएका छन्।
शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नदी तरितराउको अभावमा वर्षौंदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन संचालनका लागि डुंगाको भरपरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताए।
डबल स्प्यानको १५७१ मिटर लामो पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने बस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उनले बताए। उनले सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भई अत्यावश्यक सेवा छोटो समयमै लिन सकिँने अवस्था सिर्जना भएको पनि बताए।
हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणी धाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुंगे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना बोकेको बताउँंदै पुलको निर्माणले नेपालकै लामो झोलुंगे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गरे।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।