काठमाडौं । सरकारले दशैं, तिहार तथा छठ जस्ता चाडपर्व लक्षित गर्दै सहुलियत मूल्य पसल संचालनमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारदेखि ४२ जिल्लाका ६३ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहुलियत पसलको उद्घाटन गरेका हुन् । सुपथ पसल सञ्चालनका लागि सरकारले ३ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा देशभर सहुलियत पसल संचालन गर्ने निर्णय गरेको थियो । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
खाद्यले काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष राखेको छ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ ।
सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो ७ रुपैयाँ, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ७ रुपैयाँ र डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
खाद्यले यस वर्ष १ हजार ५०० खसीबोका तथा ३०० च्याङ्ग्रा काठमाडौं ल्याएर थापाथलीबाट बिक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने सूचना अधिकारी सुवेदीले बताइन्। उनका अनुसार घटस्थापनादेखि नवमीको दिनसम्म खसीबोका तथा च्याङ्ग्रा बिकी गरिनेछ ।
त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ ।
साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिनेछ ।
दुग्ध विकास संस्थानले गत भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ । चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ । त्यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा सोको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्नेछ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।