add

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १३ अर्ब,पर्यटनमा आकर्षण






ActPro Nepal

|

४ असोज, २०८१

|
71

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन–भदौ)मा झण्डै १३ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार साउन र भदौमा गरी कुल १२ अर्ब ९८ करोड रुपैयाँ एफडीआइ प्रतिबद्धता आएको हो । जसमा साउनमा ९ अर्ब १५ करोड र भदौमा ३ अर्ब ८३ करोड रुपैयाँ प्रतिबद्धता आएको उद्योगका विभागले जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा एफडीआइ प्रतिबद्धता ११.२० प्रतिशतले घटेको छ । गत आवमा पहिलो दुई महिनामा १४ अर्ब ६२ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

उद्योग विभागका अनुसार चालु आवमा विदेशी लगानीका कुल ९७ ओटा उद्योग दर्ता भएका छन् । जसमा अधिकांश उद्योग साना तथा मझौला रहेका छन् । यस अवधिमा जम्मा २ वटा मात्रै ठूला उद्योग दर्ता भएका छन् ।

विभागका अनुसार भदौ महिनामा मात्र ३८ उद्योग दर्ता भएका छन् भने ती उद्योगमा ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, साउनमा ५९ उद्योगमा ९ अर्ब  १५  करोड लगानी प्रस्ताव आएको थियो । चालु आवमा अटोमेटिक रुटबाट ८६ करोड २५ लाख रुपैयाँ बराबरको एफडीआइ प्रतिबद्धता आएको हो ।

सरकारले गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याए पनि लगानी प्रस्ताव बढ्न सकेको देखिँदैन । स्वचालित मार्गबाट कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिनेछ ।

पर्यटन क्षेत्र रोजाइमा


विदेशी लगानीकर्ताहरूको रोजाइमा पर्यटन क्षेत्र परेको छ । दुई महिनामा विदेशी लगानी प्रस्ताव आएका ९७ उद्योगमध्ये ७१ वटा पर्यटन क्षेत्रका छन् । जसमा अधिकांश होटल तथा रेष्टुरेन्टहरू रहेका छन् ।

त्यस्तै, चालु वर्षमा १५ ओटा सेवा क्षेत्रका, ६ ओटा उत्पादनमूलक, ३ ओटा सूचना प्रविधि र २ ओटा कृषि क्षेत्रका उद्योगका एफडीआइ प्रस्ताव आएको हो । भदौसम्म नेपालबाट कुल २५ करोड रोयल्टी विदेशी लगानीकर्ताले विदेश लगेको देखिन्छ ।

भित्रिँदैन प्रतिबद्धता अनुसारको लगानी

नेपालमा एक त वैदेशकि लगानी प्रस्ताव नै कम आउँछ । त्यसमा पनि प्रतिबद्धताको न्यून मात्रै रकम भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । गत आर्थिक वर्षमा ५४ अर्ब ८७ करोड विदेशी लगानी प्रतिबद्धता आएकोमा जम्मा ८ अर्ब ४६ करोड रुपैयाँ मात्रै भित्रिएको थियो । त्यअघिका वर्षहरूमा पनि प्रतिबद्धताको तुलनामा नगन्य मात्र रकम भित्रिएको तथ्यांक छ ।

प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नहुँदा पनि लगानी कम भित्रिने गरेको जानकारहरू बताउँछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.