कैलाली । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो ।
पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए । उनले सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्कअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या ५ लाख ८६ हजार ९१५ पुगेको बताए ।
सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या बढी छ । स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या ३ लाख ९ हजार १२ र पुरुषको सङ्ख्या २ लाख ७७ हजार १९० रहेको साउदले बताए ।
स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले दिएको जानकारीअनुसार स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा २ लाख ९९ हजार १४५ पुगेको छ भने कञ्चनपुरमा ६४ हजार ४२० र अछाममा ५७ हजार ९६४ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
यसैगरी बझाङमा ४२ हजार १०२, बाजुरामा ३६ हजार ५३६, बैतडीमा २६ हजार १०७, डडेल्धुरामा २३ हजार ५६२, डोटीमा २० हजार ९२८ र दार्चुलामा १६ हजार १५३ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्याङ्कले देखाएको छ ।
प्रमुख साउदका अनुसार पुराना बीमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन ५ जना सदस्य भएको परिवारले वार्षिक रु ३ हजार ५०० प्रिमियम तिर्नुपर्छ भने ५ जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप रु ७०० का दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ ।
बीमित परिवारका सदस्य बिरामी हुँदा रु १ लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ ।
स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र संघीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् ।
सरकारले विसं २०७२ देखि देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो।
सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी–एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।