काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन)मा झण्डै सवा ४ अर्ब रुपैयाँको बिजुली भारतमा निर्यात भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार साउनमा देशभित्र खपत गरी बढी भएको भएको बिजुली भारतमा बेचेर ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ (२ अर्ब ६२ करोड १२ लाख ३ हजार भारु) आम्दानी भएको हो ।
साउनमा औसतमा दैनिक १३ करोड ११ लाख रूपैयाँको विद्युत निर्यात भएको हो । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठवर्ष अघिसम्म वर्षायाममा दैनिक ८–९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नु पर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरूमा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिक सात सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए।
प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने गरेता पनि अहिले मागअनुसार विद्युत आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
कार्यकारी निर्देशक घिसिङले भने, ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरू अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिने छ ।’
घिसिङले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवं नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गरे।
‘हिउँदयाममा केही महिना अझै विद्युत आयात गर्नु परेता पनि आयातको परिमाण क्रमशः घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं,’ उनले भने।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र दिव्पक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड एनभिभिएनलाई बिक्री गरिरहेको छ।
एनभिएनले विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ।
दुई साता अघि मात्रै द्विपक्षीय सम्झौता अनुसार भारतको बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत निर्यात स्वीकृति पाएको थियो ।साे अनुसार बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरू गरिने छ।
हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ।
केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत निर्यात सुरू भई नसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक ६९०.५० मेगावाट विद्युत निर्यात भइरहेको छ। स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत निर्यात गर्न सकिन्छ। त्यसैले हाल दैनिक ७०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ ।
गत आर्थिक वर्षमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।