काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल रु १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १ खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले रु १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा रु १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो ।
विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपालले भारतसँग मात्र रु ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ ।
चालु आवको पहिलो महिना भारतबाट रु ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा रु ७ अर्ब ५७ करोड ८८ लाखको निर्यात भएको हो । नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा रु २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ । गत साउनमा चीनबाट रु २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा रु १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसिया लगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ ।
चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग रु १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो । अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ।
नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महिनामा मात्र नेपालले रु ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, रु ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र रु ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
त्यस्तै, साउनमा रु ३ अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले रु १ अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।