काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् ।
सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ । विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ । अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
एडिबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गरेका थिए । एडिबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।